आइतबार, २३ वैशाख २०८१

सरकारले कोरोना बीमा बापतको ११ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी

समयपोष्ट २०७९ साउन ४ गते १३:५९

Advertisement

नेपाल सरकारले कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा सरकारले कोरोना महामारीको बीमाबापतको अर्बौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ ।

नेपाल सरकारको २०७७/७८ को बजेट वक्तव्यमा सामूहिक कोरोना बीमा प्रिमियमको ५० प्रतिशत अनुदान दिने र सबै कर्मचारीको १ लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्था गरेको थियो । उक्त बजेट वक्तव्यको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयको सचिवस्तरको २०७७ साउन १६ गतेको निर्णयबाट कोरोना बीमा मापदण्ड, २०७७ को स्वीकृति भएको थियो ।

सोको लागि ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको दाबी रकमको दायित्व व्यहोर्ने निकाय नेपाल सरकार हुने उल्लेख छ । उक्त दायित्वको अधिकतम सीमा कायम गरिएको छैन । उक्त असीमित दायित्व नेपाल सरकारले व्यहोर्ने सचिव स्तरको निर्णय गरी मापदण्ड तथा कार्यविधिहरू तय गरिएको थियो ।

बीमा समितिले कोरोना बीमा मापदण्डअनुरूप व्यहोर्नुपर्ने दायित्व १ अर्ब नेपाल बीमक संघलाई भुक्तानी गरेको छ । मापदण्डमा बीमा समितिले ब्यहोर्ने दायित्वको दाबी भुक्तानीको प्रक्रिया उल्लेख छैन । बीमक संघ गैरसरकारी संस्था भएको र यसको विधानमा बीमा दावी भुक्तानीको कार्य गर्न सक्ने उद्देश्य देखिँदैन । त्यसैले कोरोना बीमाबापतको रकम संघलाई भुक्तानी गर्नु नियमसम्मत नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

नेपाल सरकारबाट कोरोना बीमा प्रिमियमको अनुदान बापत २०७७ कात्तिक मसान्तसम्मको ४ करोड १९ लाख भुक्तानी भएको थियो । तर त्यसपछिको २ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ । कोरोना बीमा मापदण्ड बमोजिम नेपाल सरकारले भुक्तानी गर्न बाँकी दाबी ११ अर्ब ८२ करोड २१ लाख रहेको छ । कोरोना बीमा दाबी समयमै भुक्तानी गराउनुपर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री