शनिबार, १५ वैशाख २०८१

नबिल सहित नौँ बैंकको लगानी रहेको सुपरदोर्दी ‘ख’ आयोजनाको कामले गति लियो, हालसम्म ६५ प्रतिसत् काम सम्पन्न

समयपोष्ट २०७७ असार २४ गते २०:५७

Advertisement

बन्दाबन्दीको शुरुआतबाट निर्माण रोकिएको करीब साढे तीन महिनापछि लमजुङ जिल्लाको दोर्दी गाउँपालिका –६ ढोडेनीस्थित ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको कामले गति लिन थालेको छ । पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन दोर्दी करिडोरकै सबैभन्दा ठूलो सो आयोजनाका कर्मचारी लकडाउनमा घर गएकामा फर्किन थालेको तथा लकडाउन खुकुलो र निर्माण सामग्री ढुवानीमा सहज भएपछि तीव्र रुपमा काम हुन थालेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख बाबुकृष्ण भण्डारीले भन्नुभयो, “गत चैत ११ गतेदेखि लकडाउन भएसँगै आयोजनाको काम रोकिए पनि यतिबेला कामले पहिलाको जस्तै गति लिन थालेको छ ।” यसअघि कामदार अभावका साथै आयोजनामा आवश्यक दैनिक निर्माण सामग्रीको ढुवानीमा समस्या भएका कारण काम रोकिएको थियो । लकडाउनमा घर गएका कामदार फर्किएपछि करीब तीन सयले जनाले काम गरिरहेको र अझै २०० कामदार घरबाट आउने तयारीमा रहेको आयोजनाले जनाएको छ ।

हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको आयोजना प्रमुख भण्डारीको भनाइ छ । उहाँका अनुसार १० किलोमिटर लामो सुरुङमार्गमध्ये आठ किमी सम्पन्न भएको छ । त्यस्तै मेकानिकल र इलेक्ट्रोनिकलको काम, आवास भवन निर्माण, वित्तीय व्यवस्थापनलगायत काम भएको छ । पाइप बिच्छ्याउने, जलविद्युत्गृह निर्माण, ट्रान्समिसन लाइनलगायत ४० प्रतिशत काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

रु आठ अर्ब ८० करोडको लगानीमा निर्माणाधीन आयोजनामा नबिल बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा बन्न लागेको आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको मात्र रु २७ करोड लगानी छ ।

लकडाउनले काम प्रभावित हुँदा निर्माण समयावधि र लगानीसमेत बढ्ने आयोजनाले जनाएको छ । विसं २०७१ मा विद्युत् खरीद सम्झौता (पिपिए) गरी २०७२ असोज महिनादेखि निर्माण थालनी गर्दै यही असार मसान्तमा सक्ने लक्ष्यका साथ सम्झौता भएको थियो । सम्झौतानुसार निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनाले सुख्खा याममा रु आठ र ४० पैसा तथा बर्खायाममा रु चार र ८० पैसामा विद्युत् खरीद गर्ने भएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री