शुक्रबार, १४ कार्तिक २०७७

दुर्गम तिलागुफाकी उप–मेयरका योजना

समयपोष्ट २०७४ असार १४ गते ८:२६

प्रमिला बानियाँ
‘काठमाडौँको गोठाटार बस्दा घरबेटीले मेरो भाइलाई सधैं जात सोध्ने गर्दारहेछन् । एक दिन मलाई पनि उनले त्यही प्रश्न दोहोर्याए । मलाई एकदम झोंक चलेर आयो । मैले सिधै भनिदिए किन चाहियो मेरो जात ? तपार्इंको छोरोसँग मेरो विवाह गर्दिने हो, हामी सार्की हौं ल के गर्नुहुन्छ ? बूढो अक्क न बक्क परे । त्यसपछि करिब एक वर्ष चापागार्इं थरका ती घरबेटीको घरमा बसेर हामी अन्तै सर्यौं ।’ देशको दुर्गम मानिने कालिकोटमा रहँदा छुवाछूत नभोगेकी उनलार्ई राजधानीका यस्ता प्रश्नले वाक्क बनाउँथ्यो । कालिकोटभन्दा पनि काठमाडौंवासीको चेतनास्तर देखेर उनी हैरान हुन्थिन् । 

Advertisement

माथि उल्लिखित सन्दर्भ माओवादी केन्द्रबाट कालिकोटको तिलागुफा नगरपालिकामा उपमेयरमा विजयी बन्न सफल २३ बर्षिया दर्शना नेपालीको हो । बीबीएस चौथो वर्षको थेसिस बुझाउन काठमाडौँ आएको मौका छोपेर दर्शना आफ्ना यस्ता प्रसंग कोट्याउँदै थिइन् । छुवाछूतकै सन्दर्भमा उनी भन्दै थिइन्, ‘दलित समुदायका मानिस आर्थिक रूपमा विपन्न भए भने बढी हेपिने रहेछन् । मेरो बुवा एक राजनीतिक व्यक्तित्व, करिब बीस वर्षअघि उहाँले नेपाल मजदुर किसान पार्टीबाट बडाध्यक्ष जित्नुभयो । त्यसमा पनि हाम्रो परिवार अरूभन्दा सम्पन्न र शिक्षित छ । कालिकोटमा म र मेरो परिवार छुवाछूतमा परेको मलाई अहिलेसम्म थाहा छैन ।’ 
आफ्नो परिवार कथित उच्च जातबाट हेपिनु नपरे पनि अन्य क्षेत्रमा हुने छुवाछूतका घटनाबारे भने उनी परिचित नै छिन् । समाजमा दलितको नाममा हुने दुव्र्यवहारलाई निस्तेज गर्न के गर्ने सोचमा छिन् त उनी ? उनी भन्छिन्, ‘अवसर पाए दलित पनि गैर-दलितभन्दा केही कुरामा कम हुँदैनन् । म राजनीतिमा होमिएकी दलित समुदायकी त्यसमा पनि एक महिला, देशको विकट मानिने कालिकोटको एउटा नगर हाँक्ने जिम्मा मैले पाएकी छु । मेरो ठाउँमा उदाहरणीय काम गरेर देखाउँछु ।’ उनी थप्छिन्, ‘मैले गरेको कामले मेरो समुदायको शिर सधैं उँचो हुनेछ । त्यसमा पनि चेतनाका कुराहरू त हुने नै भए ।’ दलितहरूलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार र समग्र सामाजिक रूपान्तरणकै लागि राजनीतिमा होमिएको बताउने दर्शनाको राजनीतिक यात्रा माओवादी जनयुद्धताका नै प्रारम्भ भएको हो । 

darshanan

Advertisement

चार कक्षामा पढ्दै गर्दा एघार वर्षको कलिलो उमेरमै उनी तत्कालीन नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता बनिन् । भूमिगत भएको केही समयपछि पढ्नुपर्छ भन्ने एक नेताको सल्लाहमा उनी घर फर्किइन् । २०६७ मा एसएलसी पास गरेपछि उनी काठमाडौं पसिन् । गोठाटारको गान्धी आदर्श उच्चमाविबाट दस जोड दुई उत्तीर्ण गरेपछि उनी पद्मकन्या क्याम्पसमा भर्ना भइन् । त्यसपछि उनको पाइला विद्यार्थी राजनीतितर्फ मोडियो । २०७१ मा उनी अखिल क्रान्तिकारीकी इकाइ अध्यक्ष बनिन् भने २०७३ मा हुने भनिएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिकी उम्मेदवार बन्न पुगिन् । तर, चुनाव हुन सकेन । त्यसपछि लगत्तै भएको स्थानीय निर्वाचनमा उनी कालिकोटको तिलागुफा नगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनिन् । वैशाख ३१ मा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका आफ्ना प्रतिद्वन्द्वीलाई ५ सय ४३ मतको अन्तरले पराजित गर्दै उपमेयरमा आफ्नो नाम लेखाउन सफल भइन् । उनले कुल सात हजार पाँच सय मतदातामा अठार सय बाउन्न मत प्राप्त गरेकी थिइन् । क्याम्पसमा चुनाव नभएपछि स्थानीय चुनाव नै दर्शनाको पहिलो अनुभव थियो । पहिलो प्रयासमै सफल हुँदा उनी निकै उत्साही भएको छिन् ।

दर्शना कालिकोटको तिलागुफा नगरपालिकामा सम्पन्न परिवारमा जन्मिएकी हुन् । आठजनाको ठूलो तर राजतीतिक रूपमा शिक्षित परिवारमा हुर्किएकी उनलाई राजनीति गर्न परिवारको साथ मिलिरह्यो । ‘हाम्रो गाउँमा अहिले पनि बालविवाह गर्ने चलन छ मेरो बुवाआमा बुझ्ने हुनुहुन्नथ्यो भने सायद मेरो पनि अहिले विवाह भइसक्थ्यो ।’ उनी भन्छिन्, ‘समाजमा असल राजनीतिज्ञको खाँचो छ । त्यसकारण राजनीति गर्नुपर्छ भनेर सधैं मलाई बुवाले प्रेरणा दिइरहनुुहुन्थ्यो । मेरो पनि सानैदेखिको सोच राजनीतिमै आउनु थियो ।’

उनकी आमा सधैँ उनलाई छोराभन्दा सफल र सक्षम हुनुपर्छ भनेर सुझाव दिइरहन्थिन् । हरेक परिस्थितिमा बलियो बनेर यो समाजको नेतृत्व लिन महिलापछि पर्नुहुँदैन भन्ने आमाको सुझावलाई आत्मसात् गर्दै आफू अघि बढेको दर्शना सम्झन्छिन्। चुनावमा सहभागी हुनुभन्दा अगाडि र चुनाव नै जितिसकेको अवस्थामा दर्शना आफ्नो जीवन निकै बदलिएको अनुभव गर्दै छिन् । ‘मेरो सोचमा निकै परिवर्तन आएको छ । विद्यार्थीमात्र भएर बाँचेको जीवन अब नेता भइएको छ । एउटा निकै गम्भीर र महत्वपूर्ण जिम्मेवारी मेरो काँधमा आइपुगेको छ,’ उनी भन्छिन्, ‘सबै उमेरका व्यक्ति, समूहमा पुगेर सबै किसिमका समस्या हल गर्नुपर्ने दायित्व वहन गर्नुपर्छ । म पहिलेभन्दा अलि भिन्दै हुँदै छु ।’ 

हाल बीबीएस चौथो वर्षमा पद्मकन्या क्याम्पसमा अध्ययनरत उनी राजनीतिसँगसँगै पढाइलाई पनि निरन्तरता दिनुपर्ने हुँदा खाली समय उनले पढाइलाई दिने गरेकी छन् । त्यससँगै बाँकी समय नगरपालिकाको काममा छुटाएकी छन् । नयाँ संरचना, नयाँ अनुहार र काम पनि अरूले भन्दा नयाँ र उत्कृष्ट गर्नुपर्ने हुँदा विज्ञहरूको सल्लाह सुझाव लिएरमात्र आफू अघि बढ्ने उनको धारणा छ । उनी उत्कृष्ट काम गरेर मानिसले राजनीतिलाई हेर्ने दृष्टिकोण नै बदल्ने सोचमा छिन् । राजनीति र नेताप्रतिको जनताको अविश्वासलाई नयाँ नेतृत्वले चिर्नुपर्ने उनी बताउँछिन् । 
पढेर व्यवहारमा उतार्ने नै हो भने राजनीति नै गर्नुपर्ने उनको बुझाइ छ । राजनीतिमा बढीभन्दा बढी युवाहरू आउनुपर्ने उनको ठम्याइ छ । ‘नयाँ सोच र हट्टाकट्टा शरीर भएको एउटा युवाले गर्ने काम बूढो दिमाग र जीर्ण भएको शरीरले कहिले गर्न सक्दैन,’ उनी भन्छिन् । 

अबको पाँचवर्षे कार्यकालमा आफ्नो नगरमा दर्शनाले के गर्ने छिन् त ? ‘राज्यले नगरपालिकामा दिएको अधिकारबाहेक हामीले गर्न केही सक्दैनौ त्यही अधिकारभित्र रहेर समाजमा विद्यमान विकृति, विसंगति, मानिसले मानिसलाई गर्ने व्यवहार त्यसको अन्त्य गर्नु मेरो पहिलो प्रयास हुनेछ ।’ उनी भन्छिन्, ‘जबसम्म मानिसको चेतनास्तर माथि पुग्दैन तबसम्म समाजमा केही गर्न सकिँदैन त्यसका लागि सबैभन्दा पहिले चेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनेछु ।’

खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, विद्युत्जस्ता आधारभूत कुराको विकास नहुँदासम्म समाज परिवर्तन नहुने उनी बताउँछिन् । कृषिलाई विशेष प्राथमिकता दिदै त्यहाँ उत्पादन हुन सक्ने वस्तुलाई सहज बजारमा पुर्याएर जनताको आयस्रोत बढाउने कामलाई उनले पहिलो प्राथमिकतामा राखेकी छन् । शिक्षालाई सबै जनताको पहुँचमा पुर्याउँनु उनको दोस्रो प्राथमिकतामा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री