शुक्रबार, ७ वैशाख २०८१

गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुलाई पूर्ण रुपमा अंग्रेजी माध्यममा रुपान्तरण गर्ने योजना

समयपोष्ट २०७४ असार १३ गते ५:२४

अनिता राई

Advertisement

‘चुनाव पक्कै जित्छु भन्ने लागेको थियो । अन्तिम आवरमा प्रतिपक्षी दलले पैसाको चलखेल गरे भन्ने सुनियो । उनीहरुको मनोबल पनि चुनावको दिनसम्म आउँदा बढेकैे हो तर मत काउण्ट हुँदै जाँदा नतिजा हाम्रो पोल्टामा पर्यो ।’ गाउँपालिकाको काम लिएर काठमाडौँ छिरेकी गिता विष्ट आफ्नो चुनावी अनुभव सेयर गर्दै थिईन् । 
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा रामेछापका सुनापति गाउँपालिकाको उप–प्रमुख पदमा माओवादी केन्द्रको झण्डा फहराउँन  सफल पुर्व माओवादी लडाकु हुन् उनी । उनले चार हजार ८ सय २२ मत सहित करीब एघार सय मत अन्तरले नेपाली काँग्रशको प्रतिद्धन्दीलाई पराजित  गरिन् । 
यस चुनावले केही गरेर देखाउँने राम्रो अवसर प्रदान गरेको बताउँने उनी जुन उदेश्यले जनयुद्धमा जिवनको उर्वर समय दिईन् त्यो उदेश्य पुरा गर्ने समय आएको बताउँछिन् । 
‘गाउँमा मैले केही गरेर देखाउँने सुनौलो अवसर हो यो । जुन उदेश्य बोकेर म र मेरो परिवार जनयुद्धमा होमिएको थियो अब त्यसलाई मैले मुर्त रुप दिनुछ । मेरो बुवा,दाई,भाउँजु र देवरको बलिदानलाई म खेर जान दिन्न,’ उनी भन्छिन् ,‘समाजमा ब्याप्त कुरिती,कुसंस्कार,अन्धविश्वास,अशिक्षा र गरीबि जस्ता यावत् कुराहरुलाई हामीले जरै देखि उखेलेर फाल्नुछ ।’

gita bista

काभ्रेको श्री महाकाली निम्न माध्यमिक विद्यालयबाट अखिल क्रान्तिकारीको ईकाई अध्ययक्षबाट गिताकोे राजनितिक यात्रा प्रारम्भ भएको हो । काभ्रेको मध्यमवर्गिय शिक्षित परिवारमा जन्मिएकी उनी २०५८ सालमा एसएलसी दिएपछि भुमिगत भएकी थिईन् । 
राजनिति गर्ने प्रेरणा आफ्नै परिवारबाट पाएको बताउँने उनले तत्कालिन जनमुक्ति सेनाको कम्पनी कमाण्डरका रुपमा  भिमान,चौतारा,ठोकर्पा,झुरझुरे गरी साना ठूला थुप्रै फौजी मोर्चामा सहभागीता जनाईन् । जनयुद्धमा परिवारको चार सदस्य गुमाएकी उनले बुवा,दाजु र भाउँजु सहादत भएकोे क्षण यसरी सम्झिन्छिन् ‘बुवा म पढ्ने स्कुलमा शिक्षक हुनुहन्थ्यो । २०५२ सालमा जनयुद्ध सुरु भयो । जनयुद्ध सुरु हुँने वित्तिक्कै बुवा राजनितिमा लाग्नुभयोे । बुवाले माओवादी पार्टीको काभ्रे जिल्ला सेक्रेटरी साथै पुर्वका कम्पनी कमिसार हुनुहुन्थ्यो । उपचारका क्रममा २०५९ सालमा काठमाडौँ आउँदै गर्दा नेपालथोक भन्ने ठाउँमा सेनाले उहाँलाई गोली ठोक्यो । त्यसको करीब ठिक तिन महिना पछि सिन्धुलीको भिमान मोर्चामा दाई पनि सहिद हुनुभयो । त्यतिबेला दाईको विवाह भएको मात्र एक महिना भएको थियो ।’ 
उनि भिमान मोर्चामा काभ्रेबाट प्लाटुन लिएर गएकी थिईन ।  उनको भाउजुको पनि ओखलढुंगाको रुम्झाटार मोर्चामा सहादत भएको थियो । बुवा सहिद भएको छ महिना पनि नबिदै उनले एकै परिवारका तिन जनालाई गुमाउँनुपर्यो । त्यसपछि उनको आमा र भाई पनि भुमिगत भए । 
हाल बुलेटको मोर्चाबाट ब्यालेटको मोर्चामा भिडेकी उनी अन्तत बुवा र दाजुको सपना साकार पार्ने एउटा खुड्कीलो चढ्न सफल भएकी छिन् । 
रत्नराज्य लक्ष्मी क्याम्पसबाट समाजशास्त्रमा मास्टर्स गरेकी उनी बुवा र दाईले देखेको सपना हर हालतमा पुरा गर्ने बताउँछिन् । साथै आफ्ना गाउँपालिकाका बासिन्दाले आफु माथि राखेको अपेक्षालाई जसरी पनि पुरा गर्नेे उनको भनाई छ । 

gita bista 1

२०६१ सालमा रामेछापका विद्यार्थी नेता युवराज चौलागाईसंग विवाह बन्धनमा बाधिएकी उनी चुनाव अघि आफुले जनताका अगाडी गरेका वाचा जसरी पनि पुरा गर्ने बताउँछिन् । शिक्षा ,स्वास्थ,यातायात,खानेपानी जस्ता आधारभुत आवश्यकताका कुराहरुबाट बञ्चित रामेछापका जनतालाई अबको पाँच बर्ष भित्र  ति सबै कुराहरु पुर्याउने उनको अठोट छ । ‘हाम्रो गाउँपालिकाकामा स्वास्थ,शिक्षा,खानेपानी , यातायात जस्ता कुरामा जनताको पहुँच पुगेको छैन ।’ उनि भन्दछिन् ‘यो पाँच बर्ष भित्र यि समस्यालाई जसरी समाधान गर्नुपर्छ र त्यो हामी सबै मिलेर गर्छौ पनि ।’
विशेष गरी गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुलाई पुर्ण रुपमा अंग्रेजी माध्यममा रुपान्तरण गर्नेे योजनामा रहेकी उनी गाउँपालिकामा गर्ने हरेक विकासका कार्यक्रमहरुमा विज्ञहरुको उचित परामर्श लिएर मात्र अगाडी बढ्ने बताउँछिन् ।  


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री