बुधबार, ५ कार्तिक २०८२

नेपाल संवत् नेपाली नोटमा समावेश गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

समयपोष्ट २०८२ कार्तिक ५ गते १०:४८

Advertisement

नेपाल सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको आयोजनामा नेपाल सम्वत् ११४६ को नयाँ वर्षको दिन बुधबार मध्यपुर थिमि शंखधर चोकस्थित नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले यो घोषणा गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले सम्बन्धित पक्षहरूसँग परामर्श गरी यो प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनेकी छन्, “नेपाल राष्ट्र बैंकद्वारा जारी गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षहरूसँग छलफल गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।”

नेपाल संवत्को सुरुवात ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा भएको थियो। त्यस समयमा शंखधर सा:ख्वाले गरिबी र ऋणको बोझमा डुबेका जनताको ऋणमोचन गरेर सामाजिक न्यायको उदाहरण प्रस्तुत गरेका थिए। शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने वि.सं. २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइएको थियो।

Advertisement

प्रधानमन्त्री कार्कीले शंखधरको यो कार्य ऐतिहासिक भएको उल्लेख गर्दै यसले सामाजिक एकता, त्याग र मानवीयताको मार्गमा हिँड्न सबैलाई प्रेरणा प्रदान गर्ने बताइन्। उनले थपिन्, “यो दिन नै नेपाल संवत्को शुभारम्भको आधार हो।”

सरकारी कार्यालयहरूमा नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमार्फत थप निर्देशन जारी गरिने उनले वचन दिइन्। साथै, यसको अनुगमन र कार्यान्वयनमा सहकार्य गर्न नेपाल संवत् प्रतिष्ठानसँग समन्वय गर्ने इच्छा पनि उनले व्यक्त गरिन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री