बुधबार, ५ वैशाख २०८१

शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका लागि मनोनयन दर्ता, समर्थक र प्रस्तावकलाई दिए धन्यवाद

समयपोष्ट २०७४ जेठ २० गते ९:२०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गरेका छन् । संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले शनिवार बिहान करिब ११ बजेर २५ मिनेटमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका बिजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेम वहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि समर्थन गर्ने भनिए पनि उम्मेदवारी दर्ताको समयमा थापा देखिएका छैनन् ।
संसदमा कायम रहेको संख्याको बहुमतले प्रधानमन्त्री निर्वाचित हुने भएकोले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमको संख्या देउवाका लागि निर्वाचित हुन पर्याप्त हुन्छ ।
संसद सचिवालयले प्रकाशित गरेको प्रधानमन्त्री निर्वाचनका लागि कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम अघि बढेको हो  कार्यतालिकाअनुसार शनिवार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २१ गते आइतबार बिहान ११ बजेको बैठकबाट प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।
देउवा यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन् ।  नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचनपछि राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको हो ।
प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा समर्थन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,पार्टी नेता रामचन्द्र पौडेलसहित फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतलाई पनि समर्थन गरेको भन्दै धन्यवाद दिएका छन् ।
सामाजिक सञ्चालमा उनले तस्बिरसहितको एक स्टाटस लेख्दै भनेका छन्, ‘मलाई प्रधानमन्त्रीको उम्मेदबारमा प्रस्ताव गर्नु हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी र समर्थन गर्नुहुने मेरो पार्टीका नेता मित्र रामचन्द्र पौडेल, फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार लगायत सबै साथिहरुलाई हार्दिक धन्यवाद। ’
देउवाको उम्मेदवारी दर्ता पछि संसद भवन नया बानेश्वरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै  प्रस्तावक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई नयाँ राजनीतिक संस्कृती तर्फ उन्मुन गराउनका लागि आफुले महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रतिक्रिया दिए ।
उनले राजीनामा गरेर आफुले सहज सत्ता हस्तान्तरणको नयाँ राजनीतिक संस्कृतिको प्रारम्भ गरेको बताए ।
आफ्नो कार्यकालमा नेतृत्व लिएको तर पुरा नगरेका विषयलाई आगामी सरकारले पुरा गर्छ त भन्ने संचारकर्मीको जिज्ञासामा उनले मुलुकमा प्रचुर सम्भावना र चुनौती दुवै भएको भन्दै सबै मिलेर सामना गर्दै देशलाई सफल पार्नुपर्नेमा जोड दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री