
फिफा विश्वकप २०२६ को समूह चरणका पहिलो खेलहरूले नै विश्व फुटबलको शक्ति सन्तुलन परिवर्तन भइरहेको सङ्केत गरेका छन् । छैटौँ पटक विश्वकप खेलिरहेका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो इतिहास बोकेर मैदान उत्रिएका थिए भने आधुनिक फुटबलका ‘मन्स्टर’ किलियन एम्बाप्पे पुरानो कीर्तिमान भत्काउने दाउमा देखिए । अर्कातर्फ, लामो समयको अन्तरालपछि विश्वकपमा फर्किएको नर्वेका स्टार अर्लिङ हालान्डका लागि यो पहिलो विश्वकप मञ्च थियो ।
पहिलो चरणका खेलहरूले यी चार स्टारका चार फरक कथा प्रस्तुत गरेका छन् । मेस्सीले अर्जेन्टिनाको खेललाई कलात्मक बनाए भने एम्बाप्पे यो प्रतियोगिताकै लागि बनेका खेलाडी जस्ता देखिए । हालान्डले एक उत्कृष्ट ‘नम्बर ९’ स्ट्राइकरको रूपमा आफ्नो उपस्थिति जनाउँदा रोनाल्डोका लागि भने खेल फिक्का रह्यो ।
सुरुवाती खेलमा मेस्सीको प्रदर्शन सबैभन्दा पूर्ण र दमदार रह्यो । अल्जेरियाविरुद्धको ३–० को जितमा अर्जेन्टिनाका लागि तीनवटै गोल मेस्सीले गरे । अर्जेन्टिनाका लागि २०० औँ खेल खेलिरहेका उनले आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै पुरुष विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबर गरे । मेस्सीले आफ्नो खेल कौशलले यस खेलमा पूर्ण नियन्त्रण जमाए ।
प्रभावका हिसाबले फ्रान्सका किलियन एम्बाप्पे पनि पछि परेनन् । फ्रान्सले सेनेगललाई ३–१ ले हराउँदा एम्बाप्पेले दुई गोल गरे । सेनेगलले एक गोल फर्काएर खेलमा दबाब सृजना गरेकै बेला एम्बाप्पेले गरेको दोस्रो गोलले फ्रान्सको जित निश्चित गर्यो । यही कारण नै उनी ठुला प्रतियोगिताका लागि कति महत्त्वपूर्ण खेलाडी हुन् भन्ने प्रमाणित हुन्छ ।
नर्वेका अर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्यू खेलमै इराकविरुद्ध दुई गोल गर्दै सनसनी फैलाए । इराकले बराबरी गोल फर्काएपछि हालान्डले पहिलो हाफमै दुई गोल गरेर नर्वेलाई ४–१ को फराकिलो जित दिलाए । क्लब फुटबलको आफ्नो उत्कृष्ट लयलाई उनले विश्वकपको पहिलो खेलमै कायमै राखे ।
अर्कातर्फ, ४१ वर्षको उमेरमा छैटौँ विश्वकप खेलेर इतिहास रचे पनि क्रिस्टियानो रोनाल्डोको प्रदर्शन भने सन्तोषजनक रहेन । प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग १–१ को बराबरीमा रोकिएको खेलमा पोर्चुगलले मात्र एक सट अन टार्गेट हान्न सक्यो । रोनाल्डोले दोस्रो हाफमा गोल गर्ने केही राम्रा अवसरहरू गुमाए । उनी मैदानमा हुँदा पोर्चुगललाई जस्तो नतिजा आवश्यक थियो, त्यो प्राप्त हुन सकेन ।
ओभरअल रेटिङ: को कति अगाडि ?
पहिलो खेलको प्रभावलाई मूल्याङ्कन गर्दा मेस्सी स्पष्ट रूपमा पहिलो नम्बरमा आउँछन् । ३–० को जितमा ह्याट्रिक गर्नु सामान्य कुरा होइन । दबाबपूर्ण अवस्थामा दुई गोल गरेका एम्बाप्पे दोस्रो स्थानमा र डेब्यू खेलमै टिमलाई जिताउने हालान्ड तेस्रो स्थानमा रहे । ऐतिहासिक उपस्थिति जनाए पनि खराब प्रदर्शनका कारण रोनाल्डो चौथो स्थानमा सीमित भए । मेस्सीले आफ्नो पुराना जादु अझै बाँकी रहेको देखाएका छन् भने एम्बाप्पे र हालान्डले नयाँ युगको सुरुवात भइसकेको सङ्केत गरेका छन् ।एजेन्सी










प्रतिक्रिया