विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीका प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ। मंगलबारको बैठकमा सांसदहरूले विभिन्न मन्त्रालयको खर्च रकम घटाउने प्रस्ताव प्रस्तुत गरे।

Advertisement

बैठकमा सांसद गुरुप्रसाद बरालले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको खर्च रकम घटाई एक रुपैयाँ कायम गर्ने प्रस्ताव गरे। उनले माध्यमिक तहदेखि नै विज्ञान तथा प्रविधिको पढाइ हुनुपर्ने र यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

यसैगरी सांसद बलावती शर्माले भौतिक विकासको खाका बजेटमा स्पष्ट नभएको आरोप लगाइन्। उनले पूर्वाधार विकास मन्त्रालयको खर्च रकम कटौतीको प्रस्ताव गर्दै बागलुङको पूर्वाधार निर्माणमा आवश्यक बजेट विनियोजन गर्न माग गरिन्।

Advertisement

सांसद रमेशकुमार मल्लले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको खर्च रकम घटाउने प्रस्ताव प्रस्तुत गरे। उनले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्ने र कर्णालीका सडक योजना बजेटको किताबमा नपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद विष्णुमाया विकले गृह मन्त्रालयको खर्च रकम कटौतीको प्रस्ताव राख्दै लागुऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणमा न्यून बजेट रहेको बताइन्। उनले साइबर अपराध न्यूनीकरण र कारागार निर्माणका लागि समेत बजेट अपुग भएको उल्लेख गरिन्।

सांसद यज्ञबहादुर बोगटीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको खर्च रकम घटाई एक रुपैयाँ कायम गर्ने प्रस्ताव राखे। विद्युत् महसुलमा कर लगाउँदा जनतालाई आर्थिक बोझ थपिएको र बजेटले पछाडि परेको क्षेत्रको विकासमा ध्यान नदिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री