ईभी आयातमा गिरावट: आठ महिनामा ६ हजार ३ सय ९६ युनिट भित्रिए

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ६ हजार ३ सय ९६ युनिट विद्युतीय सवारी (ईभी) आयात भएका छन्।

Advertisement

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ सय ८४ युनिटले कम हो। यस वर्षको आठ महिनामा १४ अर्ब ९५ करोड ७७ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षको आठ महिनामा भने १६ अर्ब ६४ करोड ३२ लाख रुपैयाँको विद्युतीय सवारी भित्रिएको थियो।

स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत बढाउन र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति लिँदै आएको छ। यही कारण पछिल्ला वर्षमा ईभीको आयात तीव्र गतिमा बढे पनि सरकारको नीति अस्थिर रहेको भन्दै व्यवसायीहरूले आलोचना गर्दै आएका छन्। गत आर्थिक वर्षभरिमा ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ लागतका १३ हजार ५ सय ६९ युनिट विद्युतीय सवारी आयात भएका थिए।

Advertisement

विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ३ हजार ६ सय ७२ युनिट विद्युतीय सवारी आयात भएका छन्। गत आर्थिक वर्षको आठ महिनामा यस क्षमताका ३ हजार ८ सय ७९ युनिट सवारी भित्रिएका थिए।

त्यसैगरी चालु आर्थिक वर्षको आठ महिनामा ५० किलोवाटसम्मका २ हजार १ सय ९८ युनिट सवारी आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ५० किलोवाटसम्मका २ हजार ५ सय ३१ युनिट सवारी नेपाल भित्रिएका थिए।

सरकारले सन् २०२५ सम्म कुल सवारीसाधन बिक्रीमा निजी विद्युतीय सवारीको हिस्सा २५ प्रतिशत र सार्वजनिक विद्युतीय सवारीको हिस्सा २० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको थियो। त्यसैगरी सन् २०३० सम्म निजी सवारीमध्ये ९० प्रतिशत र सार्वजनिक सवारीमध्ये ६० प्रतिशत विद्युतीय बनाउने सरकारी लक्ष्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री