
आर्थिक विधेयकका पाना गायब पारिएको र भन्सार दरमा चलखेल भएको भनी सञ्चारमाध्यममा आएका समाचारप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर आपत्ति जनाएका छन् । बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यी आरोपहरू पूर्ण रूपमा भ्रामक र अतिरञ्जित भएको दाबी गरे ।
प्राविधिक कारण र भाषागत स्पष्टता
संसद्मा विधेयक पेस गरिसकेपछि त्यसमा कुनै पनि अनधिकृत परिवर्तन नगरिएको मन्त्री वाग्लेले स्पष्ट पारे । ४ सय ५० भन्दा बढी पानाको दस्ताबेजमा कोलमको साइज थोरै थिचभाच हुँदा समग्र पानाको संख्या घटबढ भएको उनको भनाइ छ ।
माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षका कारण पाना संख्यामा फरक देखिएको विषयलाई १६ पाना गायब पारिएको भन्दै गलत हल्ला फैलाइएको उनले बताए । विगतमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको जानकारी उनले दिए ।
भन्सार दरमा चलखेलको खण्डन
रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै मानवीय र प्राविधिक आवश्यकताका आधारमा सामान्य परिवर्तन गरिएको उनले बताए । अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको भन्दै उनले गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको खण्डन गरे ।
यस विवादलाई ‘चियाको कपमा तुफान’ ल्याउने प्रयासको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले आफू यसको डटेर सामना गर्न तयार रहेको घोषणा गरे । राष्ट्रहित र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिएका कामलाई गलत अर्थमा नलिन आग्रह गर्दै उनले थप शङ्का भएमा स्पष्ट पार्न सदैव तयार रहेको प्रतिबद्धता जनाए ।










प्रतिक्रिया