नेशनल लाइफ इन्स्योरेन्सको ३७औँ वार्षिक साधारण सभा सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औँ वार्षिक साधारण सभा बिहीबार कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिंहले समीक्षा वर्षमा अर्थतन्त्रमा चुनौतीहरू रहेको बताउनुभयो। कोभिड महामारीको दीर्घकालीन प्रभाव, भू–राजनीतिक तनाव, प्रतिकूल मौसम, आपूर्ति शृङ्खलामा अवरोध, खाद्यान्न, ऊर्जा र अन्य वस्तुको मूल्यवृद्धि, सहकारी क्षेत्रको समस्या, घरजग्गा कारोबारमा मन्दी र मागमा कमीले अर्थतन्त्र प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यद्यपि, बाह्य सूचकाङ्कहरू सकारात्मक रहेको र आन्तरिक आर्थिक अवस्थामा सुधारको अपेक्षा रहेको उहाँको भनाइ थियो।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल बीमाशुल्क २१.९०% ले वृद्धि भई रु. २,०४९.१२ करोड पुगेको छ। सञ्चालनबाट रु. १,३६८.१८ करोड खुद थप रकम बीमा करार दायित्वमा स्थानान्तरण भएको छ भने कुल बीमा करार दायित्व २१.७०% ले वृद्धि भई रु. ७,९६०.१८ करोड पुगेको छ। कम्पनीले मृत्यु दावी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, समर्पण मूल्यलगायत विभिन्न दावी भुक्तानीमा रु. ८३२.८२ करोड प्रदान गरेको छ। कुल लगानी १७.३५% ले वृद्धि भई रु. ७,०१५.४६ करोड पुगेको छ, जसमा वार्षिक औसत प्रतिफल दर ९.१७% कायम रहेको छ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पारदर्शी र अधिकतम प्रतिफल दिने दीर्घकालीन लगानी औजारहरूमा लगानी गर्दै आएको छ। लगानी विविधीकरणको क्रममा कम्पनीले आफ्नो स्वामित्वमा रहेको जग्गामा व्यावसायिक भवन निर्माण गर्ने नीति अख्तियार गरेको छ। नेपालगन्जमा भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने इटहरी शाखाको लागि आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया अघि बढेको छ।
कम्पनीले प्रविधिमैत्री बनाउन र कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्राविधिक तालिममा लगानी गरिरहेको छ।
कम्पनीले व्यावसायिक लक्ष्य र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै नियामक निकायको निर्देशनअनुसार खुद नाफाको १% रकम सामाजिक उत्तरदायित्व कोषमा स्थानान्तरण गरेको छ। समीक्षा वर्षमा कम्पनीले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल स्वास्थ्य उपचार परियोजनाका लागि रु. २५ लाख सहयोग गरेको छ।
सभाले आर्थिक वर्ष २०८०/८१ को लागि १०% नगद लाभांश (रु. ५२,१२,१३,३०८.२०), ५% बोनस शेयर (रु. २६,०६,०६,६५४.१०) र कर प्रयोजनका लागि रु. ४,११,४८,४१८.७० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी रु. ५,४७,२७,३९,७३६ पुगेको छ, जुन नियामकको रु. ५ अर्ब चुक्ता पूँजीको मापदण्डभन्दा माथि छ।
सभाले संस्थापक समूहबाट प्रेमा राज्य लक्ष्मी सिंह, रथी पवन बहादुर पाँडे (अ.प्रा.) र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट कुलदीप शरण सिंह र भवानी राणालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।
अध्यक्ष सिंहले आगामी दिनमा नेशनल लाइफ इन्स्योरेन्सले आम सर्वसाधारणको जीवन बीमा आवश्यकता परिपूर्तिमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। कम्पनीले बीमितको हित संरक्षण र बजार विस्तारमा निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया