कारोबार रकममा उल्लेख्य सुधार, लगानीकर्ता होटल तथा पर्यटनमा केन्द्रित
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आइतबार ०.४७ अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको छ।
नेप्से परिसूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकममा उल्लेख्य सुधार भएको छ। आइतबार करिब ११.५ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३१८ स्टकको १,०५,६३५ पटकको कारोबारमा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँबराबरको ३ करोड ३६ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ।
दोस्रो बजारमा लगानीकर्ताहरुको ध्यान होटल तथा पर्यटन उपसमूहमा केन्द्रित भएको छ। यो उपसमूहको परिसूचक ४.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यस उपसमूहमा सूचीकृत ६ वटै कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ। समग्रमा १३ उपसमूहमध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ। वित्त उपसमूहको परिसूचक १.२२ प्रतिशतले घटेर सर्वाधिक ह्रास भएको छ।
पियोर इनर्जी र पिपुल्स पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पियोर इनर्जी दोस्रो बजारमा सूचीकृत भएदेखि निरन्तर वृद्धि भएको कम्पनी हो भने पिपुल्स पावर ५० प्रतिशत हकप्रद शेयर समायोजन पछि कारोबारमा आएको कम्पनी हो। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.५ प्रतिशतले बढेको छ। अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ७.५ प्रतिशतले घटेको छ, जुन सर्वाधिक ह्रास हो।
कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ, जसको ९५ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। दोस्रो स्थानमा ङादी ग्रुप पावर रहेको छ, जसको ९०.५ करोड रुपैयाँको शेयर किनबेच भएको छ। बुटवल पावर कम्पनीको ५८.५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
प्रतिक्रिया