सोमबार, २ असार २०८२

फेसबुकमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन डा. केशव श्रेष्ठ रिसोर्टबाट उद्धार

समयपोष्ट २०८२ असार २ गते १४:५४

फेसबुकमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन बनेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई सोमबार उद्धार गरेको हो।

डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडा हाजिर हुन गएका थिए। तर, हाजिर नगराइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर मोबाइल स्विचअफ गरेका थिए। सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकैको डेराबाट बुलेट मोटरसाइकलमा हिँडेका उनको खोजीमा प्रहरीले तीव्रता दिएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू संलग्न भएको खोजी अभियानपछि उनलाई सकुशल फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए।

पूर्वी नवलपरासीको गैँडाकोट स्थायी घर भएका डा. श्रेष्ठ रामेछाप अस्पतालको निमित्त प्रमुखको रूपमा कार्यरत थिए। हाल उनको हेटौँडामा सरुवा भइसकेको छ। उनले फेसबुकमा रामेछापमा काम गर्दा अप्ठ्यारो पारिएको भन्दै केही व्यक्तिमाथि आरोप लगाएर स्टाटस लेखेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री