शनिबार, १ कार्तिक २०८२

तीन वर्षदेखि घट्दै आएको हायर पर्चेज कर्जा लगानीमा वृद्धि, कुन बैंकले कति गरे लगानी ?

समयपोष्ट २०८२ असार २ गते ६:२०

Advertisement

नेपालका वाणिज्य बैंकहरूले सवारी साधन खरिदका लागि प्रदान गर्ने हायर पर्चेज कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकको कडाइ र आर्थिक शिथिलताका कारण विगत तीन वर्षदेखि घट्दै आएको यस्तो कर्जा लगानी चालु आर्थिक वर्ष (आव) २०८१/८२ को वैशाखसम्म ६ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो १० महिना (साउन–वैशाख) मा वाणिज्य बैंकहरूले हायर पर्चेज कर्जामा १ खर्ब १३ अर्ब ४ करोड ५५ लाख रुपैयाँ लगानी गरेका छन्। गत वर्षको सोही अवधिमा यो लगानी १ खर्ब ६ अर्ब ५२ करोड ६ लाख रुपैयाँ मात्र थियो।

राष्ट्र बैंकले हालै हायर पर्चेज कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ। साथै, बैंकहरूको आधार ब्याजदर (बेसरेट) ३ वर्षयताकै न्यून स्तरमा अर्थात् ७ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो समय आर्थिक गतिविधिमा सुधार, सवारी साधन खरिद गर्नेको संख्यामा वृद्धि, र सवारी बिक्रेताहरूसँगको सहकार्यमा बैंकहरूले ल्याएका सस्तो ब्याजदरका कर्जा स्कीमले यो वृद्धिमा योगदान पुर्‍याएको छ।

नाडा र नाइमाले आयोजना गर्ने सवारी साधनको बृहत् प्रदर्शनीमा पनि बैंक तथा वित्तीय संस्थाहरूको सक्रिय सहभागिता रहने गरेको छ, जसले हायर पर्चेज कर्जाको माग थप बढाएको छ।

Advertisement

चालु आवको १० महिनामा ९ वटा वाणिज्य बैंकले हायर पर्चेज कर्जा लगानीमा वृद्धि गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ५७.८६ प्रतिशतले कर्जा विस्तार गरी ५ अर्ब ७७ करोडबाट ९ अर्ब ११ करोड ६२ लाख रुपैयाँ पुर्‍याएको छ। एभरेष्ट बैंकले ३ अर्ब ४४ करोडबाट ४ अर्ब ९५ करोड, नेपाल एसबीआई बैंकले २ अर्ब ७९ करोड, कृषि विकास बैंकले ४ अर्ब १० करोड, र नेपाल बैंकले ३ अर्ब १ करोड लगानी गरेका छन्। यीमध्ये शीर्ष ५ मा तीन सरकारी बैंक परेका छन्। सानिमा, एनएमबी, ग्लोबल आईएमई, र नबिल बैंकले पनि १२.६२ देखि ५७.८६ प्रतिशतसम्म कर्जा वृद्धि गरेका छन्।

यसैबीच, एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, माछापुच्छे, सिद्धार्थ, प्रभु, हिमालयन, प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट मेगा, र सिटिजन्स बैंकको कर्जा लगानी गत वर्षको तुलनामा घटेको छ।

हायर पर्चेज कर्जामा ग्लोबल आईएमई बैंकले १५ अर्ब ७१ करोड रुपैयाँ लगानी गरी शीर्ष स्थानमा छ। नबिल बैंकले ११ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ११ करोड, सानिमा बैंकले ६ अर्ब ७१ करोड, एनएमबी बैंकले ६ अर्ब ७० करोड, हिमालयन बैंकले ६ अर्ब ४२ करोड, प्राइम कमर्सियलले ५ अर्ब ८२ करोड, प्रभु बैंकले ५ अर्ब ७३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब १६ करोड, र कुमारी बैंकले ५ अर्ब ११ करोड लगानी गरेका छन्।

विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम १ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ। एभरेष्ट, सिटिजन्स, सिद्धार्थ, र कृषि विकास बैंकको लगानी ४ देखि ५ अर्बको बीचमा छ भने माछापुच्छे, लक्ष्मी सनराइज, र नेपाल बैंकको लगानी ३ अर्बको हाराहारीमा छ। नेपाल एसबीआई र एनआईसी एसियाको लगानी २ देखि ३ अर्बको बीचमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री