बिहीबार, १५ साउन २०८२

भारत सरकारद्वारा नेपालका ३३ जिल्लालाई ४० एम्बुलेन्स उपहार

समयपोष्ट २०८२ जेठ ३१ गते १९:५४


भारत सरकारले नेपालका सातै प्रदेशका ३३ जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। भारतीय दूतावासले काठमाडौँ, वीरगञ्ज, पोखरा र धरानमा एकैसाथ आयोजित विशेष समारोहमा यी एम्बुलेन्स हस्तान्तरण गरेको हो।

काठमाडौँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नगरपालिका र गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो। यस्तै, वीरगञ्ज र पोखरामा ७/७ वटा तथा धरानमा ४ वटा एम्बुलेन्स प्रदान गरिएको छ।

काठमाडौँमा आयोजित समारोहमा नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारीअन्तर्गत यी एम्बुलेन्सले नेपालको स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। “यो सहयोग भारत र नेपालबीच सात दशक लामो बलियो सम्बन्धको निरन्तरता हो,” उहाँले भन्नुभयो।

कार्यक्रममा उपस्थित लाभार्थी संस्थाका प्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यी एम्बुलेन्सले ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा ठूलो भूमिका खेल्ने बताए।

भारत सरकारले सन् १९९४ यता नेपाललाई १,०४९ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ। साथै, तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका क्षेत्रमा ३०० स्कूल बस, २०० सवारी साधन र हालै ‘सगरमाथा संवाद’का लागि १५ विद्युतीय सवारी साधन उपहारस्वरूप उपलब्ध गराएको छ।

यी सहयोगले भारत–नेपालको बहुआयामिक विकास साझेदारीलाई थप बलियो बनाउँदै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने दूतावासले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री