संसदमा गृहमन्त्रीको जवाफ : हिजो पदासीन मन्त्रीहरूले भ्रष्टाचारका विषयमा जवाफ दिएका छन् त ?
गृहमन्त्री रमेश लेखकले चर्चामा रहेको भिजिट भिसा प्रकरणमा आफू असम्बद्ध रहेको स्पष्ट पारेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधकाबीच उठेका आरोपहरूको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
गृहमन्त्री लेखकले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आक्षेप लगाइएको भन्दै त्यसप्रति खेद व्यक्त गरे। उनले भने,
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई भिजिट भिसा सम्बन्धमा अख्तियारले बोलाएको कुरा म सञ्चारमाध्यमबाट मात्र थाहा पाएको हुँ। त्यसमा मेरो कुनै संलग्नता छैन, हुन पनि सक्दैन।”
लेखकले सामाजिक सञ्जालमा आफूलाई जोडेर फैलाइएका सूचनाहरू निराधार भएको दाबी गरे। उनले यसलाई नियोजित र राजनीतिक आक्रमणको हिस्सा भन्दै आपत्ति जनाए।
गृहमन्त्री लेखकले प्रश्न गर्दै भने,”यदि संवैधानिक निकायले छानबिन गरिरहेको बेला कुनै सरकार वा मन्त्रीसँग जोडेर जवाफ दिनुपर्ने हो भने, हिजोका दिनमा पदासीन मन्त्रीहरूले भ्रष्टाचारका विषयमा जवाफ दिएका छन् त?”
प्रतिक्रिया