शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ महानगरको ढल निर्माणमा भ्रष्टाचार : तत्कालीन प्रमुख प्रशासकीय अधिकृसहित ७ जनाविरुद्ध मुद्दा दायर

समयपोष्ट २०८२ जेठ २८ गते १७:०५

काठमाडौँ महानगरपालिकामा ढल निर्माणको ठेक्कासम्बन्धी अनियमितताका कारण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Advertisement

बुधबार आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार, महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारसहित ७ जनामाथि भ्रष्टाचार अभियोग लगाइएको हो।

अन्य प्रतिवादीमा महानगरका कर्मचारी रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, र इन्जिनियर जनार्दन गिरी रहेका छन्।

ढल निर्माणमा मिलेमतो
सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा ठेक्का प्रक्रिया प्रभावित पारिएको अख्तियारको दाबी छ। सबैभन्दा कम मूल्य कबोल गर्ने समानान्तर सेवा प्रालि (करसहित रु १८ करोड ९ लाख २२ हजार ३२५.६३) लाई मिलेमतोमा अयोग्य घोषित गरी, दोस्रो कम कबोल गर्ने कल्पवृक्ष–कोहिनुर जेभी (रु २२ करोड ४० लाख ९४ हजार ६१२.९५) सँग सम्झौता गरिएको पाइएको छ।

यस अनियमितताबाट काठमाडौँ महानगरपालिकालाई रु ४ करोड ३१ लाख ७२ हजार २८७.३२ बराबरको आर्थिक हानि भएको आयोगको निष्कर्ष छ।

Advertisement

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र १९ अनुसार कैद, जरिवाना र हर्जानाको मागसहित सबै प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार, दोषी ठहरिएकासँग बिगो असुल गर्ने व्यवस्था समेत मागपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री