शनिबार, २४ जेठ २०८२

सहरी विकास मन्त्रालयमा मात्रै ३० देखि ३२ अर्बको चलखेल छ : वर्षमान पुन

समयपोष्ट २०८२ जेठ २४ गते १९:२९

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका साना योजनाहरूलाई समेत संघीय सरकारअन्तर्गत राखेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहरी विकास मन्त्रालयको बजेटमा यस्ता साना योजनाहरू समावेश भएको र बजेट विनियोजनमा व्यापक अनियमितता भएको आरोप लगाए।

पुनका अनुसार, सहरी विकास मन्त्रालयको बजेट गत वर्ष ९२ अर्ब रहेकोमा यस वर्ष १ खर्ब १८ अर्ब पुगेको छ, जुन २६ अर्बले बढी हो। तर, मन्त्रालयको सिलिङ ७२ अर्ब मात्रै रहेको र बाँकी रकम कहाँ र कसरी बढ्यो भन्नेमा मन्त्री स्वयं अचम्मित रहेको उनले बताए। उनले मन्त्रालयको विनियोजित बजेटमा दुई लाखसम्मका योजनाहरू समावेश भएको पाइएको र यो कुरा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीलाई सोध्दा उनले २५ लाखभन्दा मुनिका योजना नराखिएको दाबी गरेको, तर दुई लाखका योजनाहरू समेत समावेश भएको पुष्टि भएको उल्लेख गरे।

“सशर्त अनुदानको रकम गत वर्षको भन्दा बढेको छ, जबकि सशर्त रकम घटाएर समानीकरणमा वृद्धि गर्नुपर्ने हो,” पुनले भने। उनले सहरी विकास मन्त्रालयमा मात्रै ३० देखि ३२ अर्बको चलखेल भएको र योजनाहरू मनपर्दी रूपमा राखिएको स्पष्ट देखिएको दाबी गरे। “मसिना योजनाहरू समेत आफूखुसी राखिएको छ,” उनले थपे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री