केही व्यक्तिहरूलाई बदलाको भावनाले पोलिरहेको छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपको खण्डन गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टी निकट मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले कुनै अनुचित कार्य नगरेको दाबी गरे।
अध्यक्ष नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिकालाई लिएर केही व्यक्ति आत्तिएको बताए। उनले भने, “केही व्यक्तिहरूलाई बदलाको भावनाले पोलिरहेको छ, जसका कारण ममाथि भ्रष्टाचारको मुद्दा लगाउने प्रयास भएको हो।”
उनले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनताको हितविपरीत कुनै काम नगरेको जिकिर गरे। यदि आफ्नो कार्यकालमा देश वा जनताको अहित हुने कुनै काम भएको भए त्यसको पूर्ण जिम्मेवारी लिने उनको भनाइ थियो। पतञ्जलि जग्गा प्रकरणमा लगाइएको आरोप गलत भएको भन्दै उनले न्यायपालिकाबाट न्याय पाउने विश्वास व्यक्त गरे।
नेपालले आफूमाथि पूर्वाग्रह राखेर मुद्दा दर्ता गरिएको दाबी गर्दै यस्ता आरोपहरूविरुद्ध दृढतापूर्वक उभिने बताए।
प्रतिक्रिया