नेकपा एसले भन्यो- माधव नेपालमाथि षड्यन्त्र भयो, अदालतबाट क्लिन चीट लिन्छौ
नेकपा एकीकृत समाजवादीले पतञ्जली जग्गा प्रकरणमाअध्यक्ष माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत मुद्दा दर्ता गरिएकोप्रति कडा आपत्ति जनाउँदै उक्त कार्यलाई राजनीतिक प्रतिशोध भनेको छ।
पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरूको बैठकले विगतदेखि नै पार्टी र नेताहरूमाथि चलाइएको सुनियोजित षड्यन्त्रको निरन्तरताका रूपमा अध्यक्ष नेपालमाथि मुद्दा लगाइएको ठहर गरेको हो। बैठकमा सहभागी नेताहरूले अख्तियारको कदम निष्पक्षता र विधिको शासन विपरीत रहेको बताएका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लगाइएको आरोपको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने स्पष्ट पारे। उनले भने, “हामी अदालतबाट क्लिन चिट लिएर यो पूर्वाग्रही कदम हो भन्ने सन्देश दिन्छौँ। यो सरकारको निर्देशनमा गरिएको कार्य हो, जुन राजनीतिक आस्थाविपरीतको दमनको प्रयास हो।”
नेकपा एसले सरकार र अख्तियार दुवैलाई चेतावनी दिँदै यस्तो कार्यले निष्पक्ष न्याय प्रणालीमा जनविश्वास घटाउने खतरा रहेको जनाएको छ। पार्टीले देशमा सत्ताको आलोचना गर्ने विपक्षीहरूलाई लक्षित गरेर राज्य संयन्त्रको प्रयोग गरिनु खेदजनक रहेको जनाएको छ।
प्रतिक्रिया