गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीलाई धम्की, एक जना पक्राउ
समयपोष्ट
२०८२ जेठ २२ गते २१:२२
गृह मन्त्रालयको कर्मचारी हुँ भनी झुटो परिचय दिई विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरेर धम्की दिने एक व्यक्तिलाई प्रहरीले काठमाडौँको नक्साल क्षेत्रबाट पक्राउ गरेको छ।
प्राप्त जानकारीअनुसार, गृह मन्त्रालयबाट प्राप्त आदेशअनुसार खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१, नक्सालबाट भक्त बहादुर रायमाझीलाई पक्राउ गरेको हो। ५७ वर्षीय रायमाझी पाल्पा जिल्लाको नैनादेवी गाउँपालिका–७ स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौँको नक्सालमा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार रायमाझीले आफू गृह मन्त्रालयको कर्मचारी भएको भन्दै विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरेर झुटा कुरा गर्ने र धम्की दिने कार्य गर्दै आएका थिए।
उक्त आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौँमा पठाइएको छ।
प्रतिक्रिया