नेपाल राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकहरूको सरुवा र पदस्थापन
नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्व पौडेलले कार्यकारी निर्देशकहरूको सरुवा र पदस्थापन गरेका छन्। राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरिएको छ।
हालै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुख बनाइएको छ। यसअघि सो विभागको जिम्मेवारी सम्हालेका कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ।
त्यस्तै, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ। उक्त विभागका पूर्व कार्यकारी निर्देशक तुल्सी नेपालले अनिवार्य अवकाश पाएका थिए।
यसअघि, आर्थिक अनुसन्धान विभाग, मानव संसाधन व्यवस्थापन विभाग, बैङ्किङ विभाग र गभर्नर कार्यालयमा पनि कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको थियो। आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको छ। मानव संसाधन व्यवस्थापन विभागका डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको छ।
यस्तै, बैङ्किङ विभागका कार्यकारी निर्देशक विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ भने बैङ्किङ विभागमा हालै कार्यकारी निर्देशक बनेका डा. डिल्लीराम पोखरेललाई पदस्थापन गरिएको छ।
प्रतिक्रिया