कर्णाली विकास बैंकमा १ अर्ब २६ करोड अपचलन प्रकरण: पूर्वअध्यक्ष राय पक्राउ

समयपोष्ट २०८२ जेठ १८ गते ११:२६


करिब १ अर्ब २६ करोड रुपैयाँको अपचलनको आरोपमा फरार रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रायलाई पक्राउ गरेको ब्युरो प्रमुख एआइजी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

Advertisement

हाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत रायमाथि नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको छ। यद्यपि, स्रोतका अनुसार रायलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो।

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकमा संस्थागत मिलेमतोमा ठूलो आर्थिक अपचलन भएको पाइएको छ। बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाहको संलग्नतामा रकम हिनामिना भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको हो।

बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले अन्य बैंकमा रहेको खातामा र कोर बैंकिङ प्रणालीमा देखिएको रकमबीच करिब १ अर्ब २६ करोड रुपैयाँको फरक पाइएको थियो। यसै आधारमा अपचलन पुष्टि गरिएको हो।

सीआईबीले हालसम्म करिब २५० करोड रुपैयाँ हिनामिनासम्बन्धी अनुसन्धान अघि बढाएको छ। यो अनुसन्धान बैंकिङ इतिहासकै एक ठूलो घोटाला मानिएको छ।

Advertisement

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रायलाई कर्जा दुरुपयोगको आरोपमा ५ लाख रुपैयाँ जरिवाना समेत गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री