आइतबार, २९ असार २०८२

पोखरा विमानस्थलको निर्माण नरोकिने मन्त्री अधिकारीको भनाइ

समयपोष्ट २०७५ असार ११ गते ७:४१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताउनुभएको छ ।

Advertisement

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट पार्नुभयो ।

एकसय असी सिट क्षमताका जहाजसम्म आउन सक्ने सो विमानस्थलको निर्माण कार्य सन् २०२१ मा सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले निर्माणकै लागि यसै आर्थिक वर्षको बजेटमा रु ११ अर्ब छुट्याइएको जानकारी दिनुभयो ।

मन्त्रालयमा आफूले नेतृत्व सम्भालेको १०० दिनको अवधिमा विभिन्न सम्पदा पुनःनिर्माणका साथै विमानस्थलको निर्माण एवं सञ्चालनका क्षेत्रमा धेरै काम भइरहेको र पोखरा आउने पर्यटकका लागि स्तरीय जहाजसँगै स्तरीय पर्यटक आउने अवस्था सिर्जना गरिने जानकारी दिँदै उहाँले प्रदेशको समृद्धि र विकासका लागि पोखरालाई केन्द्र बनाएर सातवटै प्रदेशमा जहाज पुग्ने अवस्था सिर्जना गरिने बताउनुभयो ।

सरकारले पाँच वर्षे कार्ययोजना यो महिनाभर ल्याउने तयारी गरेको छ भन्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म चलाउने कार्यमा सफलता प्राप्त भइसकेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी तयारी भइरहेको चर्चा गर्नुभयो ।

Advertisement

सम्पदा पुनःनिर्माण कार्यमा उल्लेख्य प्रगति भइरहेको बताउँदै उहाँले कृष्ण मन्दिरको पुनःनिर्माण भइरहेको र धरहराको पुनःनिर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष माधव बराललगायतका पत्रकारले समसामयिक विषयमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनु भएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री