शुक्रबार, १६ चैत २०८०

असार १० गतेबाट नियमित उडान भर्नेे

समयपोष्ट २०७५ असार ८ गते ७:४५

राजविराज विमानस्थलबाट आगामी असार १० गतेदेखि श्री एयरलाइन्सको जहाज नियमित उडान भर्ने भएको छ ।

Advertisement

कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराज विमानस्थलबाट साताको पाँचदिन उडान भर्ने छ । पच्चीस मिनेटको समयावधि रहने यो फ्लाइटको सस्तो भाडादर न्यूनतम रु तीन हजार ५०० र अधिकतम रु छ हजार २०० तोकिएको छ । मंगलबार र शनिबार कम यात्रु हुने भएकाले त्यो दुई दिन उडान नभर्ने प्रवक्ता मानन्धरले बताउनुभयो ।

पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० श्री एयरलाइन्सको जहाजले काठमाडौँदेखि राजविराज उडान भर्ने बताउँदै उहाँले यो उडान शुरुभए पछि पशुपति दर्शन तथा काठमाडौँ जाने स्वदेशी तथा भारतीय तीर्थयात्रुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

राजविराज विमानस्थल रु ३० करोड ३० लाखको लागतमा निर्माण भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उहाँका अनुसार विमानस्थलको टर्मिनल भवन र टावर निर्माणको कार्य बजेट निर्धारण भएपछि आगामी आर्थिक वर्षदेखि शुरु गरिनेछ ।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको शिलान्यास गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलबाट नियमित हवाई सेवा शुरु हुने बताउनुभएको थियो ।

तर आवश्यक तयारीका कारण हवाई सेवा सञ्चालनमा ढिलाइ भएको विमान कम्पनीले जनाएको छ ।

उडानका लागि आवश्यक पूर्वाधारसहित अन्य तयारी हुन नसकेका कारण असार १ गतेभित्रै नियमित विमान सेवा सञ्चालनमा आउन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार उडानका लागि आवश्यक पर्ने पूर्वाधार र कर्मचारी परिचालन गरिसकिएको बताउनुभयो ।

असार १० गतेभन्दा अगाडि नै सम्पूर्ण कार्य पूरा गरेर नियमित विमान सेवा सञ्चालन गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत ज्योतिप्रसाद साहले बताउनुभयो ।

शुरुमा शनिबार र मंगलबारबाहेक साताको पाँच दिन नियमित विमान सेवा सञ्चालन गर्ने गरी सबै कार्य पूरा भइसकेको श्री एयरलाइन्स राजविराज शाखाका प्रबन्धक सुरेश मल्लिकले जानकारी दिनुभयो ।

उहाँले काठमाडौँबाट ५० सिटको जेट विमान एक बजेर १५ मिनेटमा राजविराजका लागि उड्न भर्ने तथा राजविराजबाट दुई बजेर १० मिनेटमा काठमाडौँका लागि उड्न भर्ने समय तोकिएको बताउनुभयो ।

सप्तरीको विष्णुपुर गाउँपालिकास्थित राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण भएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री