बिहीबार, १५ चैत २०८०

बाघ–गैँडा देखाउन ‘भ्यू–टावर’ निर्माण

समयपोष्ट २०७५ असार ७ गते ८:४७

पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ ।

Advertisement

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले बताउनुभयो । दुई वटा भ्यू–टावर भने हालसालै निर्माण भएको वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिनुभयो ।

हेलिप्याड चौरमा एउटा र खत्री घाटमा अर्काे टावर निर्माण भएको हो । ती दुई वटा क्षेत्र बाघ र गैँडा अवलोकनका लागि महत्वपूर्ण ठाउँ मानिएको छ । बाघको बासस्थान राम्रो रहेकाले ती क्षेत्रमा टावर बनाइएको हो । केही महिनाअघि खत्री थरका एकलाई सोही स्थानमा बाघले आक्रमण गरेकाले उक्त स्थानको नाम खत्रीघाट राखिएको हो ।
अन्य क्षेत्रमा पनि थप दुई वटा मचान निर्माणको काम जारी छ ।

वन्जयन्तुको अवलोकनसँगै आक्रमणबाट जोगिनसमेत यस्ता टावर र मचान महत्वपूर्ण मानिन्छन् । टावार निर्माणका लागि काठ चितवन निकुञ्जबाट सहयोग स्वरुप उपलब्ध भएको थियो र अन्य कामका लागि रु तीन लाख खर्च भएको थियो ।

टावरबाट वन र वनमा चर्न आएका गैँडा, चित्तल, मृग देख्न सकिन्छ । पाटे बाघ, भालु, तथा मयुर नाचेको दृष्यले टावरमा पुगेका पर्यटकलाई लोभ्याउँछ । मुख्यगरी पर्या–पर्यटन वृद्धिका लागि भ्यू–टावर बनाइएकाले पर्यटकको चहलपहल बढेको स्थानीय संरक्षणकर्मी तथा बूढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले बताउनुभयो।
अहिले कुमरोजमा एउटा काठ र एउटा कंक्रिटको मचान निर्माणको कामसमेत शुरु भएको स्थानीय ईश्वरी पाठकले जानकारी दिनुभयो। यहाँ यसअघि तयार भइसकेको दुई वटा मचानमा १६ पर्यटक बस्नसक्ने क्षमता छ ।

मचानमा विदेशी पर्यटकलाई रु एक हजार र नेपाली रु ५०० शुल्क लाग्छ । यहाँ पर्यटकका लागि हात्ती, सफारी, जिप सफारी, डुंगा सफारीको सेवासमेत छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री