आइतबार, २२ असार २०८२

सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको छानबिन समितिको निष्कर्ष

समयपोष्ट २०८१ असार ११ गते १८:५१

Advertisement

जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको निष्कर्ष निकालेको छ ।

गत जेठ २८ गते जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर अजयकुमार यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले ठेकेदारले अनियमतिता गरेको निष्कर्षसहित आज प्रतिवेदन बुझाएको हो ।

समितिले धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोला उत्खननका लागि गाउँपालिकाले लगाएको ठेक्का सम्झौतामा उल्लेख भएको परिमाणको पाँच गुणा बढी गिट्टी बालुवा उत्खनन गरेको प्रतिवेदन प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो । “छानबिन समितिले बुझाएको नापजाँचसहितको प्रतिवेदनमा सम्झौताविपरीत पाँच गुणा बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको छ । अब बैठक बसेर के कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल हुन्छ”, प्रजिअ कडरियाले भन्नुभयो ।

बटेश्वर गाउँपालिका कार्यालयले गत फागुन ६ गते महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई १४ हजार चार सय ४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि रु २७ लाख नौ हजार एक सय तीनमा ठेक्का लगाएको थियो । ठेक्का सम्झौताअनुसार ठेकेदारले १५ जेठ २०८१ सम्म उक्त परिमाण उत्खनन गर्न पाउने थियो तर ठेकदार कम्पनीले योलगायत ३२ बुँदे सम्झौतामध्ये अधिकांश बुँदा पालना नभएका देखिएको छ ।

Advertisement

ठेकेदारले जेसिबी, स्काभेटरजस्ता ठूला यन्त्र प्रयोग गरी २५ फिटसम्म गहिरो खाँडल बनाएर नदीजन्य पदार्थ उत्खनन गरेको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा निरशपुर, विजयपुर र चित्रपुर बस्ती बाढीपहिरोको जोखिममा परेका छन् ।

सर्वसाधारणको गुनासोपछि गत जेठ दोस्रो साता प्रजिअ कडरियाले खोलाको अनुगमन गरी कारबाहीका लागि गाउँपालिका कार्यालयलाई पत्राचार गर्नुभएको थियो । जनप्रतिनिधि र पालिका कर्मचारीले चासो नदेखाएपछि गत जेठ २८ गते उहाँले जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । समितिमा बटेश्वर गाउँपालिका र हुलाकी सडक निर्देशनालयका इञ्जिनियर सदस्य छन् । समितिलाई खोलामा भएको उत्खननको नापजाँच गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री