शिक्षकको तलबका लागि भिरमौरी सहयोगी
शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ ।
वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ ।
भिरमहको सिकारबाट प्राप्त भएको आम्दानीले गाउँमा रहेको रितुङ माध्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकको पारिश्रमिकबापतको रकम भुक्तानी गर्ने गरिएको वडा सदस्य अगेन्द्र छन्त्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडा कार्यालयको संयोजनमा भिरमहको ठेक्का लगाएर प्राप्त भएको रकम विद्यालयमा रहेका निजी स्रोतका शिक्षकलाई तलब दिने गरेका छौँ । शिक्षकलाई तलब दिने अन्य आम्दानी नभएपछि विगत पाँच वर्षदेखि भिरमहलाई स्कुलको आम्दानीको स्रोतका रूपमा लिने गरेका हौँ ।”
उहाँले अघिल्ला वर्षहरूमा ८ देखि १० लाख रुपियाँसम्म आम्दानी हुने गरेकोमा यसपालि तीन लाख रुपियाँमा ठेक्का लगाएको छौँ भन्दै पछिल्लो समय भिरमहको सिकार गर्ने सिकारीहरूको अभाव हुन थालेपछि रकम पनि घटेको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।
प्रतिक्रिया