शनिबार, १५ वैशाख २०८१

चार जनासंग विवाह गरेर करोडौँ ठगी गर्ने भावना तामाङ जेल चलान

समयपोष्ट २०७९ असार १४ गते १३:४९


भक्तपुर जिल्ला अदालतले भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

Advertisement

सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् ।

ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्पत्ति हत्याउन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धविच्छेद गर्ने गरेको प्रमाण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

आफू मलेसियामा रहँदै गर्दा फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएर आफूलाई अविवाहित हो भनी विश्वास दिलाएको, बिवाहको प्रलोभन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कविच्छेद भएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए ।

भावनाले आफूसँग विवाह गर्नु अगाडि नै अन्य चार युवासँग विवाह गरेको प्रमाणसमेत फुर्वाले अदालतमा पेश गरेका थिए । अदालतले अभियोगपत्र मिसिल संलग्न तथ्य र प्रमाणका आधारमा तत्कालप्राप्त प्रमाणबाट भावना निर्दोष नदेखिएको भन्दै उनलाई पुर्पक्षका लागि थुनामै पठाउन आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा मिसिल संलग्न जाहेरी दरखास्त, जाहेरवाला फुर्वा मोक्तानले गरेको कागज, घटना विवरण कागज गर्ने मानिसहरुले गरेको कागज, बैंकमा रकम जम्मा गरेको भौचर, मोबाइल च्याट, विभिन्न फोटोहरु, निज प्रतिवादीले अनुसन्धानका क्रममा र यस अदालतमा गरेको बयान बेहोरा समेतका तत्काल प्राप्त प्रमाणको मूल्यांकन गर्दा यी प्रतिवादी अहिले नै निर्दोष रहेको भन्ने सकिने अवस्था देखिन आएन । तसर्थ, पछि प्रमाण परीक्षण गर्दै जादा ठहरे बमोजिम हुने नै हुँदा हाल यी प्रतिवादी भावना तामाङलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पूर्पक्षको लागि कानुन बमोजिम सिदा खान पाउने गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा राख्न पठाइदिनु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री