हाम्री कान्छी आमा र महन्तजी !
मेरी गाउँकी बाँसारुखे कान्छी आमाको गुल्मीको तम्घासमा पहिलो विवाह भएको रहेछ । त्यहाँको श्रीमानको मृत्यु भएपछि उहाँ हाम्रो गाउँमा विवाह गरेर आउनु भएको थियो। उहाँका चार छोरा, एक छोरी हुनुहुन्छ । खत्री कान्छा बुवाको मृत्यु भयो तैपनि छोराहरुले राम्रो सम्मानका साथ उहाँलाई राखेका थिए । हामीले हेर्दा कुनै कमी देखिदैनथ्यो। चारै भाइ छोरा लाहुरे थिए । सबैले दिल्लीबाट कसैले पार्सल पठाउथे, कसैले नगद पठाउँथे, छोरीको पनि विवाह भैसकेको थियो। एक दिन गाउँमा गाँइगुँइ चल्यो । पधेर्नीहरु मुख जोडेर खासखुस गर्न थाले । आखिर कुराको पोको खुली हाल्यो। एकजना भाउजुले फ्याट्ट भनिन “बाँसारुखे कान्छी पोइल गइन रे। “उतीबेला आफै जानेलाई पोइल भन्ने चलन थियो। मान्छेहरुले जिव्रो टोके !ओहो !! यो के सुन्न परेको हो, पचपन्न बर्षको बुढी, पिण्ड खाने बेलामा पोइ खोज्दै जाने! बुढीको बैश पनि कति मात्तिएर आएको हो!हाम्रो पितृसत्तात्मक समाजमा छोरी मान्छेले पचपन्न बर्षमा दोस्रो विवाह गर्नु समाचारका हेडलाईन त बन्ने नै भयो तर यहीँ कुरा पैसट्ठी बर्षको बुढाले गरेको भए साहारा त चाहिने नै भयो भनेर भनिन्थ्यो होला। खैर!कुरा काट्नेले काट्दै रहे, कान्छी आमाको घर बस्यो,छोराछोरी फर्काउन नआएका पनि होइनन तर उहाँ फर्कनु भएन। अड्डि लिएर बस्नु भयो। छोराछोरीहरु निरास भएर फर्के। कान्छी आमाको नयाँ घर राम्रै बस्यो। उहाँ सन्धिखर्क देखी तलको बजार गच्छे बजारमा विवाह गरेर आउनु भएको थियो। गच्छे बजार देखी माथितिर दुवारमा मेरा दुइटी बहिनीको विवाह भएको छ। उनीहरुलाई कान्छी आमाले माइत बिर्साउनु भयो। गच्छे वजारमा कान्छी आमाको होटल थियो। मेरा बहिनीहरुलाई कहिले समोसा, कहिले जलेवि, कहिले पकौडा, कहिले आलुचप मेरा बहिनीहरुले राम्रैसङ्ग मुख फेर्ने मौका पाएको थिए ।
एकदिन अचानक कान्छी आमाको श्रीमान बिमार पर्नु भयो र उहाँको देहावसान भयो। अन्तिम काजकिरिया पछि उहाँ झड्केला छोराहरु सङ्ग मिल्न सक्नु भएन वा उनीहरुलेहरुले सहेनन । कान्छी आमा त्यहा बस्न सक्नु भएन। निराश भएर मलाइ भाग्यले ठग्यो भनेर चिन्ता गरेको थाहा पाएर पुराना छोराहरु गएर आफ्नै घरमा ल्यायर राखे। छोराहरूले पुरानै सम्मान र इज्जतकासाथ उहाँलाई राखेका थिए । अन्ततः उहाँको त्यही नै देहावसान भयो । धर्मशास्त्रले कुनाकिरिया गर्न पर्दैन भनेपनि हामीलाइ जन्मदिने आमा हुन भनेर छोराहरुले कुना किराया नै गरेका थिए।
यतिबेला हाम्रा महन्तजीहरुलाइ पनि मेरी कान्छीआमालाई जस्तै अफ्ट्यारो पर्न गएको छ। सबैकुरा राम्रै चलेको थियो, पार्टीको अध्यक्ष हुनु भयकै थियो, बाबुराम उपेन्द्रहरुले सम्मान गरेकै थिए, पाँच दलले प्रधानमन्त्री बन्न अनुरोध पनि गरेका थिए, उहाँले मलाइ मन्त्री बन्ने चाहाना छैन भन्नुभयो, मेरो लागि बराबर हुन पनि भन्नुभयो । म तटस्थ रहन्छु पनि भन्नु भयो तर उहाँको भित्री र बाहिरी मनसाय फरक रहेछ । उहाँ वालुवाटार छिर्न थाल्नुभो, आज भोली पर्सी गर्दागर्दै वँहा बालुवाटारबाट यतिधेरै प्रशिक्षित हुनुभयो की उहाँका मुल्यमान्यता र नैतिकता सबै उहाँद्वारा नै बलत्कारमा परे । उहाँको टोली मन्त्री मण्डलमा सामेल हुनपुग्यो। मन्त्री क्वाटरमा बेडबिस्तारा मिलाउन नपाउदै, हवाइजहाजमा जिल्ला जिल्लामा भ्रमण गर्ने अभिलाषा पूरा हुन नपाउदै एकाएक अदालतको एउटा झोक्का आइपुग्यो । उहाँहरुलाई मन्त्रीमण्डलमा बस्न अयोग्य भएको ठहर गरियो ।
नागरिकताको त्यान्द्रो समातेर वालुवाटार छिर्नुभएको थियो, आखिर त्यो त्यान्द्रो पनि चुड्यो। अब पार्टीमा फर्कौ भने पार्टी अन्तै गैसकेको छ। पुराना पाँचभाइ जम्मा गरेर बनाएको पार्टी पनि अब सोलोडोलो रहेन ।
बुढेसकालमा राजनैतिक बैश देखाउदा मेरी कान्छी आमाको जस्तो अवस्था भयो। मेरी कान्छी आमाका त दिलदार छोराहरु थिए र बुढेसकालमा राम्रै भएको थियो तर उहाँले आफ्नो भाग्यविधाता भनेर छनोट गरेको उहाँको मालिक त्यति दयालु होला जस्तो लाग्दैन। जुन ब्यक्तिले विवाहितालाई घरबाट निकालेर लेइताहरु धमाधम भित्राउन थाल्दछ । त्यस्ता ब्यक्तिको बिस्वास गर्नु नै महामुर्खता हो। बुढेसकालमा बुढो मान्छेको के हुनेहोला सबैलाई चिन्ता परेकै छ।
प्रतिक्रिया