शुक्रबार, ७ वैशाख २०८१

पहिलेकै अवस्थामा फर्केलिन् त मोडल निशा ? यसो भन्छन् नर्भिकका चिकित्सक

समयपोष्ट २०७८ जेठ २८ गते २०:३८

Advertisement

काठमाडौँको नर्भिक अस्पतालमा मोडल निशा घिमिरेको उपचार सुरु भएको छ ।

बिहीबार अस्पताल भर्ना भएकी निशाको प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या नदेखिएको चिकित्सकले जनाएका छन् ।

चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । पुरानै अवस्थामा फर्किन नसके पनि आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्न सक्नेसम्म हुने चिकित्सकहरुले अपेक्षा गरेका छन् ।

तीन वर्षअघि अध्ययन गर्न देहरादून जाँदै गर्दा सडक दुर्घटनामा निशा घिमिरे गम्भीर घाइते भएकी थिइन् । आर्थिक अभावका कारण शरीर अस्थिपन्जरमा परिणत हुँदै गएपछि अहिले भने उनको उपचार सुरु भएको छ । मिडियामा उनको दर्दनाक फोटो र तस्विर सार्बजनिक भएपछि उनको सो अवस्थामा राहत दिन समाजसेवी समेत रहेकी नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले चौधरीले उद्धार गरेकी हुन् ।

दुर्घटनापछि उनको भारतमै उपचार हुँदै थियो तर उपचार महङ्गो र आर्थिक अभाव झन झन बढ्दै गएपछि बुबाआमाले उनलाई नेपालमै ल्याएका थिए । घरमै अर्धचेत अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रेसपोन्स गर्न सक्दिनन् ।
उनको यस्तो अवस्थाबारे थाहा पाएपछि अस्पतालकी प्रबन्ध निर्देशक चौधरीले नि:शुल्क उपचारको जिम्मा लिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री