
स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको ‘नेपाली प्रजाति’ बेलायतसहितका युरोपेली मुलुकमा फैलिएको भन्ने समाचारको खण्डन गर्दै पत्र लेखेको छ ।
बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित गरेपछि मन्त्रालयले बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)लाई पत्र लेखेको हो ।
डेलीमेल बिहीबारको अंकमा नेपालको भेरिएन्टको कारण बिदा प्रभावित भएको समाचार प्रकाशित गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बेलायतको आइएचआरलाई पत्र लेखेको र जवाफको प्रतीक्षा गरिरहेको बताए । उनले नेपालमा अल्फा (युके भेरिएन्ट) र डेल्टा (भारतीय भेरिएन्ट)बाहेक अर्को भेरिएन्ट नभेटिएको समेत दाबी गरे । ‘अल्फा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) प्रजाति हाम्रो सिक्वेन्सको सूचीमा छैन’ पौडेलले भने, ‘नेपाली भेरिएन्टले उनीहरुको बिदा प्रभावित भएको भन्ने खबर फैलिएछ यो सत्य हैन ।’
यता हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य संगठनले समेत आधिकारिकरुपमा केही बताएको छैन् । नेपालका जनस्वास्थ्य अधिकारीले पनि नेपाल भेरियन्टबारे अनबिज्ञता जनाउंदै दोस्रो लहरका बेला देखिएको भाइरस भारतीय भेरियन्टको भएको बताइरहेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको बताएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो । बिहीबार सामाजिक सञ्जालमार्फत डब्ल्यूएचओको नेपालस्थित कार्यालयले भनेको छ,‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’










प्रतिक्रिया