आइतबार, २३ वैशाख २०८१

यस्तो छ सुशान्त सिंहको आत्महत्याको कारण

समयपोष्ट २०७७ असार २ गते ७:५९

Advertisement

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद वा नातावादको बहस फेरि उठेको छ ।

के सुशान्त बलिउडमा परिवारवादको शिकार बनेका थिए ? अर्थात् उनले आत्महत्या गर्नुको पछाडि यही परिवारवादको संरचना धेरथोर जिम्मेवार थियो ? त्यसो त, बलिउडमा परिवारवाद अघोषित रुपमा स्थापित नै छ । यो विस्तारै पारिवारिक पेशा जस्तो पनि बन्न थालेको छ ।

योग्यता र क्षमता नभए पनि स्टार कलाकारका भाइ-भतिजा, छोरी-चेली भएकै कारण बलिउडमा प्रवेश गर्ने र स्थापित हुने मौका धेरैलाई मिल्यो । यसको ठीक उल्टो पाटो डरलाग्दो छ । कतिपय कलाकार अब्बल क्षमता र कौशल भए पनि परिवारवादको घेराभित्र पर्न नसक्दा छायामै परे ।

बलिउडकै स्थापित कलाकारहरुले सुशान्त सिंह राजपुतलाई त्यस्तैमध्येका एक अभिनेता ठानेका छन् । करण जोहर, आलिया भाट लगायत कलाकारले जब सुशान्तको निधनमा श्रद्धाञ्जली दिए, त्यसपछि परिवारवादको बहस सतहमा उठेको हो ।

Advertisement

धेरैले सामाजिक सञ्जालमा करण र आलियालाई दोहोरो चरित्रको मान्छे भन्दै कठोर आलोचना गर्न थालेका छन् । यस्तो किन पनि भनियो भने, सुशान्तलाई करण जोहरको शो ‘कफी विथ करण’ मा आलियाले खिल्ली उडाएकी थिइन् ।

यतिसम्म कि, बाबु र आमाको प्रभावबाट बलिउडमा छिरेकी आलियाले सुशान्तलाई चिन्दिन समेत भनेकी थिइन् । जब कि, सुशान्त कठिन मेहनतबाट बलिउडमा स्थापित भएका थिए ।
उनै आलियाले सुशान्तको निधनबाट आफू स्तब्ध बनेको भन्दै गहिरो दुख व्यक्त गरेकी छन् । उनले यो दुख व्यक्त गर्ने शब्द नै नभएको भन्दै उनको परिवारमा समवेदना प्रकट गरिन् ।

बलिउडकर्मी गौरव मिश्राले आलियाको यस्तो ट्वीटलाई ‘फेक सिम्प्याथी’ भन्दै टिप्पणी गरेका छन् । उनले त बलिउडकर्मीले ‘गोहीको आँशु’ झारेको भन्दै आलोचना समेत गरे । उनले भनेका छन्, ‘सुशान्तले भनेका थिए कि, कसैले पनि उनलाई पार्टीमा बोलाएका थिएनन् । उनले बलिउडले आफूलाई परिवारको सदस्यको रुपमा स्वीकार नगरेको बताएका थिए । उनी सधैँ यही कुराले दुखी र निराश थिए । बलिउड स्टप हिप्पोक्रेसी एन्ड घडियाली टियर्स‘ ।’

त्यसो त, सुशान्त अब्बल अभिनेता हुँदा हुँदै पनि धेरै ठाउँबाट उनलाई अघोषित रुपमा वहिष्कार नै गरिएको थियो । जस्तो कि, ‘काइ पो चे’ जस्तो सफल फिल्ममा उनले डेब्यू गर्दा नै आफुलाई पुष्टि गरिसकेका थिए । ‘पिके’, ‘केदारनाथ’ जस्ता फिल्ममा सुशान्तले सम्झनलायक काम गरे ।

कठिन मेहनतबाट बलिउडमा स्थापित बनेका सुशान्तले फिल्म अवार्ड पाउनुपर्ने गुनासो बलिउडमा सुनिरहन्थ्यो । यतिसम्म कि, कंगना रनोटले त ‘गल्ली ब्वाइ’भन्दा ‘काइ पो चे’ धेरै हिसाबले अवार्डका लागि योग्य फिल्म रहेको टिप्पणी गरेकी छन् ।

विडम्वना कस्तो भने, हरेक वर्ष सुशान्तको अभिनयको प्रशंसा त धेरै हुन्थ्यो । तर उनी फिल्म अवार्डमा नै बोलाइँदैनथे । यतिसम्म कि, प्रोड्युसरहरुको पार्टीमा समेत उनलाई बोलाइँदैनथ्यो ।

यसको मतलब सुशान्त एक किसिमले उपेक्षित वा वहिस्कृत जस्तै थिए । त्यसो त, सुशान्त आफैँ पनि कतिपय सन्दर्भमा बलिउडले परिवारको सदस्यको रुपमा स्वीकार नगरेको गुनासो गर्ने गरेका थिए ।

कंगनाले हालै सुशान्तको निधनको सन्दर्भमा भनेकी छन्, ‘सुशान्तलाई मानसिक रुपमा कमजोर थियो, मानसिक समस्याग्रस्त थियो, एडिक्ट थियो भनेर गलत रुपमा चित्रित गरिँदैछ । सुशान्तको एडिक्सन खराब लाग्ने, सञ्जय दत्तको एडिक्सन चाहिँ क्युट लाग्ने ?’

कंगनाले थप लेखेकी छन्, ‘स्टार किडहरु बलिउडमा सुरक्षित हुन्छन् । उनीहरुलाई पहिले नै धेरै कुरा थाहा हुन्छ, जस्तो कि, मिडिया, स्टाफ र प्रोड्यूसरसँग कसरी बोल्ने पहिल्यै थाहा हुन्छ । जब हामी आउँछौँ, हामी सिक्छौँ, हामी कठिन बाटो सिक्छौँ ।’

उनले त सुशान्तले आत्महत्या गर्नुमा बलिउडको परिवारवाद पनि जिम्मेवार रहेको औंल्याएकी छन् । कंगना मात्रै हैन, अरु लाखौं बलिउडका दर्शकले बलिउडको परिवारवाद बन्द गर्न भन्दै ह्यासट्याग नै चलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री