मंगलबार, ४ वैशाख २०८१

लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालनमा,‘लो’ भोल्टेज र चुहावटको समस्या हट्यो

समयपोष्ट २०७६ वैशाख २६ गते ११:४३

Advertisement

दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ ।

लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताए ।

“घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको छ”, उनले भने , “हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न शुरु गरेर बुधबारदेखि मात्रै लोड लिन शुरु गरेका हौँ ।”

उक्त प्रसारण लाइन शुरु भएसँगै विद्युत्मा यसअघि देखिएको ‘लो’ भोल्टेजको समस्या सुधार भएको भएको उनको भनाइ छ । यसअघि २३ किलोमिटर दूरी रहेको लमहीबाट विद्युत् ल्याएको भए पनि लमही–घोराहीअन्तर्गत झिग्नीको लाइन शुरु भएसँगै आठ किलोमिटर दूरीबाटै विद्युत् ल्याएर वितरण गर्दा यो समस्या हटेको उनको भनाइ थियो ।

“यसअघि लमहीबाट २३ किलोमिटर टाढाबाट ल्याउन बीचमै चुहावट हुने समस्या पनि थियो”, उनले भने, “तर अहिले नजिकै छ, आठ किलोमिटर मात्रै छ, त्यसले गर्दा पनि सहज थियो ।”

यसअघि लमहीबाट ३३ केभी लाइन नै ल्याइएको थियो । झिग्नीको ३२ केभी लाइन घोराहीसँगै तुलसीपुर, सल्यान, रुकुम, रोल्पामा पनि वितरण हुने गरेकाले ओभरलोड जारी रहेको भन्दै पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदासम्म समस्या जारी रहने उनको भनाइ छ ।

“अहिले भोल्टेजमा केही सुधार त आएको छ, तर ओभरलोडको समस्या कायम छ”, उनले भने, “पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदा केही समस्या भएको हो ।”

३८ टावर निर्माण पूरा हुनुका साथै तार तानेपछि निर्माणको काम पूरा भएको हो । लमहीबाट १३ किलोमिटर तार तानेर झिग्नीमा प्रसारण लाइन राखिएको हो ।

दाङमा देखिएको व्याप्त विद्युत् अनियमितालाई रोक्न विसं २०७० देखि लाइन निर्माण शुरु गरिएको थियो । ३७ महीनासम्ममा पूरा गर्ने सहमति भए पनि केही ढिला गरी निर्माणकार्य पूरा भएको हो ।

स्थानीयको अवरोधले तुलसीपुर आएन

दाङ घोराहीको स्थानीयको अवरोधका कारण उक्त प्रसारण लाइनबाट ३३ केभी लाइन तुलसीपुर लैजाने भनिए पनि काम पूरा हुनसकेको छैन । सडकले स्वीकृति दिएको क्षेत्रमा सडक दायाँबायाँबाट पोल गाडेको भए पनि स्थानीयवासीले अवरोध गर्दा तुलसीपुर लैजाने काम अवरुद्ध भएको यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री