जापानमा निश्चित सीपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण
नेपाल र जापानबिच सन् २०१९ मा भएको निश्चित सीपयुक्त कामदार पठाउने समझदारीलाई थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले यो समझदारीलाई मार्च १९, २०२४ देखि लागू हुने गरी नवीकरण गरेको हो।
सन् २०१९ मार्च २० मा भएको उक्त समझदारीको अवधि गत मार्च १९, २०२४ मा सकिएको थियो। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बुधबार यो निर्णयबारे जानकारी दिँदै भने, “नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ।”
समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० सालमै ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ लागू गरिसकेको छ। यो कार्यविधिले नेपाली कामदारहरूलाई जापानमा सीपमूलक रोजगारीका अवसरहरू प्रदान गर्न सहज बनाएको छ।
प्रतिक्रिया