बुधबार, ३२ असार २०८२

रसुवा बाढी : जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति, २५० मेगावाट विद्युत् उत्पादन ठप्प

समयपोष्ट २०८२ असार २७ गते १०:४१

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


चीनको तिब्बतबाट बगेर आउने ल्हेन्दे खोला (भोटेकोशी) मा मंगलबार बिहान आएको आकस्मिक बाढीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गत सञ्चालित जलविद्युत् आयोजनाहरूको करिब २५० मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प भएको छ।

Advertisement

बाढीले रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा गम्भीर क्षति पुर्‍याएको छ। यी आयोजनाहरूको कुल उत्पादन क्षमता निम्नानुसार छ:

रसुवागढी जलविद्युत् आयोजना: १११ मेगावाट

त्रिशूली थ्री ‘ए’: ६० मेगावाट

चिलिमे हाइड्रोपावर: २१ मेगावाट

Advertisement

बेनी हाइड्रोपावर: १९ मेगावाट

बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवागढी जलविद्युत् आयोजना भएको छ। आयोजनाको स्टेसन हेड सन्तोष अधिकारीका अनुसार, बाढीको पानी निकास हुने सुरुङबाटै पावर हाउसमा पसेर जलमग्न भएको छ। यसका साथै हेडबक्स, गेट, र अन्य महत्वपूर्ण संरचनाहरूमा पनि गम्भीर क्षति भएको छ। “पावर हाउस पूर्ण रूपमा पानीले भरिएको छ, र हेडबक्सलगायत अन्य संरचनाहरूमा पनि ठूलो नोक्सान भएको छ,” अधिकारीले भने।

त्रिशूली थ्री ‘ए’ को ड्याम साइटमा दुईवटा गेटमा क्षति पुगेको छ भने चिलिमे र बेनी हाइड्रोपावरका संरचनाहरूमा पनि बाढीले असर गरेको छ। यी आयोजनाहरूको विद्युत् प्रवाह हुने त्रिशूली ३ बी हब सबस्टेशनमा पनि क्षति पुगेका कारण उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।

बाढीले नेपाल–चीन जोड्ने रसुवागढीस्थित मितेरी पुल बगाएको छ। जसले गर्दा दुई देशबीचको सडक सम्पर्क टुटेको छ। रसुवागढी भन्सार यार्डमा रहेका दर्जनौं सवारीसाधन बगाएको र पुरिएको खबर छ। यसले व्यापारिक कारोबारमा ठूलो असर परेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री