बिहीबार, ६ वैशाख २०८१

मायामोह र भाषणले मात्र लगानी आउँदैन : राधेश पन्तको विष्लेषण

समयपोष्ट २०७६ वैशाख १८ गते १२:५९

Advertisement

अहिलेको समय आर्थिक समृद्धिको हो भन्ने सबैले महसुुस गरिसकेका छन् । यही सिलसिलामा लगानी सम्मेलन भएको छ । समृद्धिको लागि एफडीआई चाहिन्छ भन्ने पनि सबैले बुझेका छन् । नेपालमा संविधान बन्यो, तीनै तहका निर्वाचन भए, तीनै तहमा सरकार बनेका छन् । साथै, दुई तिहाइको बहुमत प्राप्त केन्द्रीय सरकार पनि छ । यस्तो अवस्थामा भएको लगानी सम्मेलनलाई सकारात्मक रूपमा लिनुपर्छ । तर सम्मेलन मात्र गरेर देशमा लगानी भित्रिँदैन । साँच्चै नै देशमा लगानी भित्र्याउने हो भने हाम्रो जग नै फेर्नुपर्छ । त्यसलाई नयाँ बनाउन थाल्नुपर्छ । सरकारका जुन पुराना संयन्त्रहरू छन्, त्यसबाट लगानी आउँदैन । यो विषयमा सरकारकै व्युरोक्रेसी, पूर्वसचिवहरू, राजनीतिज्ञहरू, निजी क्षेत्रलगायत सबैलाई थाहा छ । त्यसैले नयाँ संयन्त्र एउटा डेलिभरी मेकानिजममा सोलिड ट्रान्सफर्मेसन नै आउनुपर्ने जरुरी छ । त्यसमा सरकारले जोड दिनुपर्छ । नेपालमा कानुन नभएर लगानी नआएको होइन अथवा लोकप्रिय भएर मात्र पनि लगानी आउनेवाला छैन । मुख्य कुरा हामीले लगानीकर्तालाई विश्वस्त पार्न सकेनौँ । हामी कुरा एउटा गर्छौ र काम अर्कै ।

 

साँच्चै नै देशमा लगानी भित्र्याउने हो भने हाम्रो जग नै फेर्नुपर्छ । त्यसलाई नयाँ बनाउन थाल्नुपर्छ । सरकारका जुन पुराना संयन्त्रहरू छन्, त्यसबाट लगानी आउँदैन । यो विषयमा सरकारकै व्युरोक्रेसी, पूर्वसचिवहरू, राजनीतिज्ञहरू, निजी क्षेत्रलगायत सबैलाई थाहा छ ।

 

कुनै पनि प्रोजेक्टको विश्लेषण पर्याप्त मात्रामा गरेकै हुँदैनौँ तर एमओई गरिहाल्ने हाम्रो बानी छ । त्यसपछि कार्यन्वयनप्रति हाम्रो ध्यान नै जाँदैन । अझ कतिपय प्रोजेक्टबाट त हामीलाई के फाइदा हुन्छ भन्नेसम्म पनि थाहा हुँदैन । त्यस कारण प्राथमिकता के हो ? त्यसमा विचार गरेर हामी अन्य मुलुकसँग प्रतिस्पर्धामा आउन सक्नुपर्छ । लगानी गर्ने मौका छ, जोखिममुक्त छ भनेर कसैले पत्याउनेवाला छैन । काम गरेर देखाउनुपर्यो ।

 

लगानी आउने ग्यारेन्टी

लगानी सम्मेलनमा प्रतिबद्धता जनाइएको लगानी आउने केही ग्यारेन्टी नै छैन । प्रतिबद्धतामा कुनै विश्वास नै छैन । प्रतिबद्धता आउँछ तर हामीले तलैदेखि लगानीमैत्री वातावरण बनाउनुपर्छ । हरेक दिन काम गर्नुपर्छ । लगानी कुनै प्रोजेक्टका लागि आउँछ । त्यसमा स्थानीयहरू पनि हुन्छन् । स्थानीयले त्यसबाट के फाइदा पाउने ? बाहिरबाट लगानी आयो भने देशकै विकासका लागि हो । जनताले रोजगारी पाउँछन् । अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ भन्नेखालको सन्देश आमनागरिकमा पुर्याउन सक्नुपर्छ ।

हामी आफैँ जान्ने, सबै थाहा छ भनेर बुज्रुक हुनुभएन । हामीले चालीस वर्षसम्म केही गर्न नसक्नुको मुख्य कारण नै यही हो ।

लगानीको लागि परिश्रम

लगानी सम्मेलन चरण–चरणमा हुनुपर्छ । तर अहिले नेपालमा भएको लगानी सम्मेलन कुनै प्रोजेक्टमा लगानी भित्र्याउनका लागि भन्दा पनि सन्देश दिनका लागि मात्र भएको हो । हामीले लगानीकर्तालाई नेपालमा अहिले दुई तिहाइको सरकार छ । हामी समृद्धि चाहन्छौँ । यहाँ आउँनुहोस्, हामी तपाईंहरूको कुरा सुन्छौँ, अप्ठ्याराहरू के–के छन् ? तपाईंहरूको अनुभवहरू सुनौँ, त्यसपछि निजी क्षेत्रलाई नै प्राथमिकतामा राखेर प्रोजेक्ट छान्ने काम गर्छौं भन्नेखालको सन्देश दिन सक्नुपर्छ । यो प्रजेक्टमा के गर्नुपर्छ ? कुन कन्डिसनमा आउने ? भन्ने छलफल हुनुपर्छ । लगानी डाइभ गर्ने नै लगानीकर्ता भएको हुँदा उनीहरूकोे कुरा सुन्नुपर्छ । हामी आफैँ जान्ने, सबै थाहा छ भनेर बुज्रुक हुनुभएन । हामीले चालीस वर्षसम्म केही गर्न नसक्नुको मुख्य कारण नै यही हो । सन् २००५ मा लाओस, रुवान्डा कहाँ थिए, अहिले कहाँ पुगिसके ? त्यसबाट पनि नेपालले सिक्नु जरुरी छ । त्यस कारण लगानी आजको भोलि आउँदैन । परिश्रम नगरी लगानी आउँदैन भन्ने बुझ्न जरुरी छ ।

के चाहन्छन् लगानीकर्ता ?

हामी लगानीकर्तासँग हातेमालो गरेर अगाडि बढ्न जरुरी छ । लगानीकर्ता, नेपाल सरकार र नेपाली जनता भनेका पार्टनर हुन् । त्यस कारण सबैभन्दा पहिले लगानीकर्ताका समस्याहरू बुझिदिनुपर्छ । त्यसमा रोजगारी र सुरक्षाका कुराहरू आउलान्, त्यो हल गरिदिनुपर्छ । अर्को, लगानी अनुमोदन समयमै गरिदिनुपर्छ । लगानीका लागि ल्याइने प्रोजेक्टहरूले अन्ततः देशकै भलो गर्छन् । रोजगारी सिर्जना गर्छन् । त्यसबाट सरकारलाई राजस्व प्राप्त हुन्छ । सेयर पनि पाइएला । त्यसले जनताको जीवनस्तर नै परिवर्तन गरिदिन्छ । त्यस कारण लगानी नआउनु अथवा ढिलाइ हनु भनेको नेपाल सरकारकै लागि घाटा हो । सबैभन्दा पहिले त्यो बुझ्नु जरुरी छ ।

अर्को, केमा कस्तोखालको लगानी ल्याउने भन्ने प्रष्ट हुनुपर्छ । जस्तो– जलविद्युत्मै पनि नेपाल सरकारले नै लगानी गर्ने हो कि ? अथवा बाहिरबाट लगानी ल्याउने हो कि ? यहाँ त्यस्तोखालको मापदण्ड र स्पष्टता नै छैन । पहिले त्यसमा स्पष्ट हुन जरुरी छ ।

नीतिगत र कानुनी तहमा कमाएको पैसा लैजान पाइने भन्ने छ । तर त्यो राष्ट्र बैङ्कमै दुई–तीन महिना अड्किन्छ । नचाहिने कुरामा हामी बखेडा झिक्छौँ । त्यो प्रोजेक्ट एक दिन ढिलो हुँदा सरकारलाई दश करोड नोक्सानी होला । तर त्यो विचार नै नगरी हप्तौँ ढिला गरिदिन्छौँ ।

यस्तै, नीतिगत र कानुनी तहमा कमाएको पैसा लैजान पाइने भन्ने छ । तर त्यो राष्ट्र बैङ्कमै दुई–तीन महिना अड्किन्छ । नचाहिने कुरामा हामी बखेडा झिक्छौँ । त्यो प्रोजेक्ट एक दिन ढिलो हुँदा सरकारलाई दश करोड नोक्सानी होला । तर त्यो विचार नै नगरी हप्तौँ ढिला गरिदिन्छौँ । त्यस कारण अलिकित उत्तरदायित्व, पारदर्शिता ल्याउनु जरुरी छ । साथै, राम्रा कम्पनीहरू भित्र्याउन जोड दिनुपर्छ । राम्रा कम्पनीहरूका वर्किङ स्ट्यान्डर्ड, वर्क प्लेस राम्रा हुन्छन् । उनीहरूले राम्रो तालिम पाएका हुन्छन् । त्यस कारण भारत र चाइना मात्र भनेर हुँदैन । नेपाल भनेको एउटा जीयो पोलिटिक्स हो । हामी कहिले चाइना भन्छौँ अनि कहिले चाइनाले गर्न दिएन भन्छौँ । त्योजति अर्थहीन कुरा केही होइन । त्यस कारण सन्तुलन मिलाउन जान्नुपर्छ । जापानी, कोरियन, युरोपियन, अमेरिकन, ब्रिटिस लगानी भित्र्याउन सक्नुपर्छ । ती लगानी एक पटक आएपछि तिनीहरूको सरकारलाई पनि त्यसले प्रभाव पार्छ । हामीलाई व्यवस्थापन गर्न पनि सजिलो हुन्छ ।

लगानीकर्ताले चाहेका क्षेत्र

जलविद्युत्मा विदेशी कम्पनीको लगानी रहे पनि निर्यात गर्न पाउने भन्ने सम्झौता भएको छ । त्यस कारण जलविद्युत्, पर्यटन, फास्ट ट्र्याक, पूर्वाधारहरूमा लगानीको सम्भावना प्रबल छ । लगानीकर्ताहरू एयरपोर्टमा अर्बौं लगानी गर्न तयार छन् तर सरकारले जिरो रिष्क भनेर प्रमाणित गरिदिनुपर्छ । अन्य मुलुकहरूमा उनीहरूले यहाँ कुनै पनि खतरा छैन भनेर प्रमाणित गरिदिन्छन् । साथै, लगानी डुबे हामी त्यसको जिम्मेवारी लिन्छौँ भनेर ग्यारेन्टीसमेत गरेको हुन्छ । तर नेपालमा त्यस्तो केही छैन । त्यस कारण नेपालमा लगानी भित्र्याउन भनेजस्तो सजिलो छैन । मायामोह र भाषणले मात्र नेपालमा लगानी आउँदैन ।

 

लगानी भनेको पैसा कमाउ नै हो । त्यस कारण सबैभन्दा पहिले प्रोजेक्टरबारे नेपाल सरकार र हामी नेपालीले नै राम्रोसँग बुझ्नुपर्छ । त्यो प्रोजेक्टमा फाइदा कति छ ? निजी क्षेत्रले कति नेगोसियट गर्ने ? नेपालीले त्यो प्रोजेक्टबाट फाइदा कसरी लिने ? ती सबै छलफल भएपछि मात्र प्रोजेक्ट बन्छ । त्यस कारण पहिले उक्त प्रोजेक्टबारे राम्रो विश्लेषण हुन जरुरी छ । केही नबुझेपछि भोलि नेपालीहरू नै त्यसको विपक्षमा जान सक्छन्, राजनीतीकरण हुन्छ । त्यस कारण यस विषयमा प्रायःजसो विज्ञहरू नै अनभिज्ञ छन् । प्रोजेक्ट प्रभाव कस्तो हुन्छ, त्यसलाई प्राथमिकतामा राख्न जान्नुपर्छ । नेपालले कुन–कुन प्रोजेक्टलाई प्राथमिकतामा राख्ने त ? जस्तो– जलविद्युत्पछि बाटोघाटो, पर्यटन होला । समग्रमा अन्तरक्षेत्रीय हिसाबले हेर्नुपर्छ । जलविद्युत् आयोजनाले गर्दा राम्रो बाटो बन्ला । त्यसपछि टनेल ब्रिज पनि होला । त्यसले उत्पादन भएका कृषि सामग्री ढुवानीमा सजिलो हुन्छ । त्यस कारण यी सबै कुराहरूमा ध्यान दिन जरुरी छ । अर्को, कति नेपालीलाई राजगारी दिने ? कति नेपालीलाई कसरी क्षमतावान् बनाउने, त्यसमा पनि लाग्नुपर्छ । समग्रमा हेरेर हामी अगाडि बढ्नुपर्छ ।

 

राम्रा–राम्रा कम्पनीहरूको पहिचान गरेर उच्च तहबाट हाम्रो देशमा लगानी गर्न आउनुहोस् भनेर आह्वान गर्नुपर्छ । किनभने हामीलाई हाम्रो देशमा विकास गर्नु छ । देशमा समृद्धि ल्याउनु छ ।

नेपालमा अथाह सम्भावना छन् । अहिलेको दुई तिहाइको सरकार, यसमा प्रधानमन्त्रीकै तहबाट गम्भीर भएर लाग्नु जरुरी छ । सर्वप्रथम स्तम्भ दरो बनाउनुपर्छ । आधार बलियो बनाएपछि जब एक–दुईओटा लगानी आउँछन्, त्यसपछि इतिहास रचिन्छ । अब त्यो तहमा हामी पुग्नुपर्छ । यो गर्छौं, त्यसो गर्छौं अथवा यो कारण, त्योे कारण भन्दा पनि काम नै गरेर देखाउन सक्नुपर्छ । राम्रा–राम्रा कम्पनीहरूको पहिचान गरेर उच्च तहबाट हाम्रो देशमा लगानी गर्न आउनुहोस् भनेर आह्वान गर्नुपर्छ । किनभने हामीलाई हाम्रो देशमा विकास गर्नु छ । देशमा समृद्धि ल्याउनु छ । समयबोध म्यागेजिनबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री