“संवैधानिक राजतन्त्र नेपालको एकताको प्रतीक बन्न सक्छ”
चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालाले संवैधानिक राजसंस्था नेपालको राष्ट्रिय एकताको प्रतीक बन्न सक्ने अभिव्यक्ति दिएकी छन्। गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्दै उनले नेपालले पुनः हिन्दू अधिराज्यको रूपमा आफ्नो पहिचान पुनःस्थापना गर्नुपर्ने धारणा राखेकी हुन्।
फेसबुकमार्फत गरिएको आफ्नो लामो पोस्टमा मनिषाले लेखेकी छन्, “राजतन्त्र, जुन हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडिएको छ, एउटा यस्तो संस्थागत आधार हो जसले हामीलाई हाम्रो मौलिक पहिचान सम्झाउँछ।”
उनको भनाइमा, वर्तमान राजनीतिक प्रणालीमा व्याप्त भ्रष्टाचारका कारण अब देशलाई एउटा गैरराजनीतिक संस्थाको आवश्यकता छ, जसले जनताको हित, संस्कृति र राष्ट्रिय मूल्यहरूको संरक्षण गर्न सकोस्।
“यस्तो गैरराजनीतिक संस्था चाहिन्छ, जसले सन्तुलन र नियन्त्रणको भूमिका निर्वाह गर्न सकोस्,” उनले लेखेकी छन्।
राजनीतिक दलहरू स्वभावतः विभाजित र प्रतिस्पर्धी हुने उल्लेख गर्दै उनले संवैधानिक राजतन्त्र दलहरूमाथिको एकताको प्रतीक हुन सक्ने विश्वास व्यक्त गरिन्।
उनको स्टाटसमा भनिएको छ, “यो विभाजनको होइन, राष्ट्रिय पुनर्जागरणको आह्वान हो। हामी एउटा सानो गणतन्त्र होइनौं, हामी गौरवशाली सभ्यता हौं, जसको विशिष्ट पहिचान र भविष्यप्रति पवित्र जिम्मेवारी छ।”
प्रतिक्रिया