बुधबार, १४ जेठ २०८२

भीमदत्तमा ऐलानी जग्गा नापजाँच

समयपोष्ट २०८२ जेठ १४ गते ५:१७

Advertisement

महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नाप जाँच सुरु गरेको छ ।

वषौँदेखि भूमिहिन, सुकुम्वासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु गरिएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले जानकारी दिनुभयो ।

“नगरप्रमुखबाट भूमिको कामकाज बढाउन दिएको निर्देशन आएपछि यस अघि वडा कार्यालयमा विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न सुरु गरिएको हो”, अध्यक्ष बोहराले भन्नुभयो, “पहिला अव्यवस्थित बसोबासीको जमिन नापी हुन्छ । त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमवासीका लागि खोजी हुन्छ ।” उहाँले वडामा भूमिहिन दलिततर्फ १३, सुकुम्वासी तर्फ तीन र अव्यवस्थित बसोबासी तर्फ तीन सय १८ जनाले फाराम भरेको जानकारी दिनुभयो ।

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रशाद रिजालले देशभर आयोगले तीव्र रुपमा जमिनकोे कामकाज अघि बढाएको उल्लेख गर्दै नापजाँचसँगै लालपूर्जा वितरण गरिने बताउनुभयो ।

Advertisement

“भीमदत्तका १९ वटै वडामा जमिन नापजाँच हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि आयोगमार्फत लालपूर्जा दिने प्रक्रिया सुरु हुन्छ ।” यसअघि भूमि आयोग कञ्चनपुरले दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरीसहितका भूमिहिन जनतालाई लालपूर्जा वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री