‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सर वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ।
करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको शो आगामी असार १ गतेदेखि SPACE4K टेलिभिजन तथा DOKO युट्युब च्यानलमार्फत हरेक आइतबार र सोमबार राति ८:३० बजे प्रसारण हुनेछ। यसपटकको सिजन अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत हुने नोबडी प्रोडक्शनको दाबी छ।
कार्यक्रमको निर्णायक मण्डलमा चर्चित गायक दीप श्रेष्ठ, युवा पुस्तामा लोकप्रिय सुबानी मोक्तान र स्वप्न सुमन रहनेछन्। साथै, दस जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन्। कार्यक्रमको सञ्चालन चर्चित हास्यकलाकार सुमन काकीले गर्नेछन्।
सिजन २ मा ३१ एपिसोड रहनेछन्, जसमा पहिलो एपिसोडदेखि नै बालप्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकलाई मोहित पार्ने अपेक्षा गरिएको छ। शो नेपालसहित अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायत देशहरूमा समेत प्रसारण हुनेछ, जसले अन्तरक्रियात्मकता र समावेशिता थप्ने विश्वास लिइएको छ।
सहकार्यका सन्दर्भमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, “’सारेगमप लिटिल च्याम्प्स नेपाल’ जस्ता कार्यक्रमहरूले बालबालिकाको कला र क्षमता उजागर गर्नुका साथै नेपाली राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्दछन्। यस सहकार्यले हामीलाई नेपाली आवाज, सपना र सम्भावनासँग अझ गहिरो सम्बन्ध गाँस्ने अवसर दिएको छ, जसले हामीलाई गर्व महसुस गराएको छ।”
प्रतिक्रिया