शिखर इन्स्योरेन्सलाई ‘बीबी प्लस’ क्रेडिट रेटिङ, निजी क्षेत्रको सबैभन्दा बलियो बीमा कम्पनीको मान्यता
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले इक्रा नेपालबाट ‘बीबी प्लस’ (ICRA-NP BB+) क्रेडिट रेटिङ प्राप्त गर्दै निजी क्षेत्रको सबैभन्दा बलियो तथा सुरक्षित बीमा कम्पनीको मान्यता प्राप्त गरेको छ। यो रेटिङ प्राप्त गर्ने निजी क्षेत्रको पहिलो र एक्लो बीमा कम्पनी शिखर बनेको हो।
शिखर इन्स्योरेन्सका अनुसार नेपाल सरकारको स्वामित्व वा वैदेशिक लगानी भएका बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीमध्ये ‘बीबी प्लस’ वा सोभन्दा माथिको रेटिङ प्राप्त गर्ने शिखर एकमात्र कम्पनी हो। हालसम्म नेपालमा दुईवटा सरकारी स्वामित्वका संस्था र तीनवटा विदेशी लगानीयुक्त बैंकहरूले मात्रै यस्तो स्तरको रेटिङ पाएका छन्।
इक्रा नेपालले शिखर इन्स्योरेन्सको रेटिङ गर्दा चार प्रमुख पक्षहरूलाई आधार मानेको छ।
१. उत्कृष्ट जोखिम व्यवस्थापन र पुनर्बीमा संरचना — शिखरले नेपालकै सबैभन्दा ठूलो पुनर्बीमा सन्धि अन्तर्राष्ट्रिय कम्पनीहरूसँग गरेको छ, जसमा स्वीस रि र हनोभर रि जस्ता अग्रणी पुनर्बीमा कम्पनीहरू छन्।
२. उच्च सोल्भेन्सी अनुपात — कम्पनीको सोल्भेन्सी अनुपात ३.६७ रहेको छ, जुन बीमा प्राधिकरणको न्यूनतम मापदण्डभन्दा धेरै माथि छ। बोनस सेयरमार्फत चुक्ता पुँजी बढाउँदै आएको शिखरको हालको पुँजी २५० करोड रुपैयाँ नाघेको छ।
३. अग्रणी बजार हिस्सा — शिखरले विगत १० वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक बजार हिस्सा कायम राख्दै आएको छ। अन्य कम्पनी गाभिँदा पनि बजार स्थिति जोगाइराख्न सफल भएको उल्लेख गरिएको छ।
४. अनुभवी व्यवस्थापन टोली — कम्पनीको व्यवस्थापन अनुभवी र सुदृढ रहेको र यसको प्रतिफल जोखिम व्यवस्थापनमा स्पष्ट देखिएको इक्रा नेपालको मूल्यांकनमा उल्लेख छ।
शिखर इन्स्योरेन्स अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणपत्र (ISO) प्राप्त गर्ने नेपालकै पहिलो निर्जीवन बीमा कम्पनी समेत हो।
प्रतिक्रिया