बुधबार, ७ जेठ २०८२

भाजपा नेता जोलीले भने–हिन्दु राष्ट्रबारे निर्णय गर्ने अधिकार नेपाली जनताकै

समयपोष्ट २०८२ जेठ ७ गते १६:११

Advertisement

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपालप्रति गहिरो आत्मीयता र सम्मान व्यक्त गरेका छन्। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालका बहुसंख्यक नागरिकहरूमा हिन्दु राष्ट्रको भावना रहेको बताए पनि यो विषयमा नेपाली जनताको चाहनाअनुसार नै निर्णय हुनुपर्ने धारणा राखे।

चार दिने नेपाल भ्रमणमा रहेका जोलीले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्। भ्रमणको क्रममा उनले नेपाली जनताको भावना बुझ्ने अवसर पाएको उल्लेख गर्दै भने, “नेपालका ८१.२ प्रतिशत हिन्दु जनताले हिन्दु राष्ट्र चाहन्छन् भने म बाहिरी साथीको नाताले त्यसप्रति समर्थन जनाउन सक्छु।”

उनले नेपालका राजनीतिक दलहरूले जनभावनालाई सुन्ने र आत्मविश्लेषण गर्ने सुझाव दिँदै भने, “यदि जनताको भावना अनुसार नीति बनाइयो भने नेपाली लोकतन्त्र झन् बलियो बन्छ।” उनले भारतले कुनै दबाब नदिएको स्पष्ट पार्दै नेपालको निर्णय नेपाली जनताले नै गर्नुपर्ने उल्लेख गरे।

जोलीले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई विशेष महत्व दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको रामजन्मस्थलसम्बन्धी अभिव्यक्तिको चर्चा गर्दै उनले नेपालमा प्रभु रामको नाममा धार्मिक र सांस्कृतिक पर्यटनको सम्भावना रहेको बताए।

Advertisement

नेपालको भूकम्प पीडामा भारतले पहिलो सहयोग गरेको स्मरण गर्दै जोलीले नेपाल–भारत सम्बन्ध ‘साझा पीडा र सहयोग’ मा आधारित रहेको बताए। उनले पहलगाम आतङ्कवादी हमलामा नेपालले भारतलाई दिएको ऐक्यबद्धता ऐतिहासिक रहेको उल्लेख गरे।

जोलीले नेपालको संस्कृति, धर्म र परम्परालाई सम्मान गर्दै भारतको अयोध्यामा राम मन्दिर निर्माणले पर्यटन र आर्थिक विकासमा दिएको योगदान नेपालमा पनि सम्भव रहेको बताए। “नेपालको सांस्कृतिक आत्मपहिचान बचाउन सके आर्थिक समृद्धिको ढोका खुल्नेछ,” उनले भने।

नेपालप्रति विशेष प्रेम व्यक्त गर्दै जोलीले भने, “मैले २० वर्षमा २२ पटक नेपाल भ्रमण गरिसकेको छु। यहाँको माटो, जनताको व्यवहार र संस्कृति सधैं मलाई भावुक बनाउँछ। नेपाल आएपछि म माटोको टिका लगाउँछु, जुन मेरो आदर र सम्मानको प्रतीक हो।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री