नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द
नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन लगातार उकालो लागेको नेप्से परिसूचक बुधबार ७.९४ अंकले झरेर २,६६९.५१ विन्दुमा पुगेको छ। यद्यपि, परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ७ अर्ब ३१ करोडको शेयर कारोबार भएको बजारमा बुधबार ३१६ स्टकको ८८,१२१ पटकको कारोबारमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँबराबरको २ करोड ३० लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य ८४ रुपैयाँ ६० पैसा बढेर ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ५ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक ८.३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७१ करोड ३ लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। माउन्टेन इनर्जी नेपालको ५९ करोडभन्दा बढी र ङादी ग्रुप पावरको करिब ५८ करोडको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ भने १० उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सुधार देखिएको छ। यता, जलविद्युत उपसमूहको परिसूचक भने सर्वाधिक १ प्रतिशतले घटेको छ।
प्रतिक्रिया