मंगलबार, ६ जेठ २०८२

पोखरा विमानस्थलमा भ्रष्टाचारको आरोप चिनियाँ कम्पनीद्धारा अस्विकार, लेखाको प्रतिवेदन ‘हचुवा र पूर्वाग्रही’ भएको दाबी

समयपोष्ट २०८२ जेठ ६ गते ११:३१


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड ले प्रतिनिधिसभा लेखा समितिको प्रतिवेदनलाई त्रुटिपूर्ण, हचुवा र पूर्वाग्रही भएको भन्दै आपत्ति जनाएको छ।

Advertisement

राजेन्द्र लिङ्देनको नेतृत्वमा बनेको उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनमा विमानस्थल निर्माणमा ८ अर्ब २३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गरिएको छ। सो प्रतिवेदनलाई अस्वीकार गर्दै कम्पनीले गोरखापत्र मार्फत विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।

विज्ञप्तिमा कम्पनीले भनिएको छ, “प्रतिवेदनमा हाम्रो कम्पनीसम्बन्धी उल्लेख गरिएका विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैनन्। त्यसले परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र चिन्ताजनक लागेको छ।”

कम्पनीका अनुसार, विमानस्थलको निर्माण कार्य जटिल भौगोलिक अवस्था, विश्वव्यापी मुद्रास्फीति तथा कोभिड-१९ महामारीजस्ता चुनौतीबीच पनि समयमै सम्पन्न गरिएको थियो। निर्माण कार्य मार्च २०२२ मै सकिएको र डिसेम्बर २९, २०२२ मा नेपाल र चीन सरकारबीच हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर भएको पनि कम्पनीले जनाएको छ।

प्रतिवेदनमा उठाइएको कर छुट सम्बन्धी विषयमा कम्पनीले स्पष्टिकरण दिँदै भनिएको छ, “नेपाल र चीनबीच भएको कार्यान्वयन सम्झौता अनुसार कर छुट सम्बन्धी सम्पूर्ण प्रक्रिया पालना गरिएको हो। मास्टर सूचीमा समावेश गरिएका सबै वस्तुहरूको अभिलेख नेपाल सरकारको स्वीकृति सहित सुरक्षित राखिएको छ।”

Advertisement

कम्पनीले जीटूजी (सरकार-देखि-सरकार) सहकार्यमा आधारित परियोजनाहरूमा कर छुट अन्तर्राष्ट्रिय अभ्यास अनुरूपको व्यवस्था भएको उल्लेख गर्दै नेपालमा पनि सो प्रक्रिया नियमित रूपमा अपनाइँदै आएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री