मंगलबार, ६ जेठ २०८२

विकाश हाइड्रोपावरको आईपीओ बिक्री खुला

समयपोष्ट २०८२ जेठ ६ गते १०:३९

Advertisement

विकास हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रारम्भिक सार्वजनिक निष्काशन खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी कुल जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत हिस्सा अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो।

यस अन्तर्गत, गोरखा जिल्लाको धार्चे गाउँपालिकाको स्थायी बासिन्दाहरुलाई लक्षित गर्दै ९ लाख ९ हजार १०१ कित्ता शेयर निष्काशन गरिएको छ। तीमध्ये ३ लाख ६३ हजार ६४० कित्ता शेयर वडा नं. ४ र ५ का अति प्रभावित बासिन्दालाई, र ५ लाख ४५ हजार ४६१ कित्ता शेयर वडा नं. १, २, ३, ६ र ७ का प्रभावित बासिन्दालाई छुट्याइएको छ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पनि कम्पनीले ३ लाख ५४ हजार ५५० कित्ता शेयर निष्काशन गर्न लागेको छ। यी शेयरहरुको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।

यस बाहेक, कम्पनीले ७० हजार ९१० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि सार्वजनिक गरिनेछ।

Advertisement

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जेठ २० गतेदेखि छिटोमा सोही दिनसम्म र ढिलोमा असार ४ गतेभित्र आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने अनिवार्य रूपमा जेठ २० गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। स्थानिय बासिन्दाहरुले प्रभु क्यापिटल, कमलादी, हिमालयन बैंकको धार्चे शाखा, प्रभु बैंकको आरुपात शाखा तथा आयोजना कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलको अनलाइन प्लेटफर्ममार्फत पनि आवेदन दिन सकिनेछ।

शेयर खरिदका लागि दरखास्त फारम प्राप्त गर्न २ रुपैयाँ शुल्क तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री