शुक्रबार, २ जेठ २०८२

विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ

समयपोष्ट २०८२ वैशाख ३० गते १३:३८

Advertisement

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटबारे विकास साझेदारहरूसँग छलफल गरेका छन् । छलफलमा आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्त्व दिने बताए ।

‘केही समयदेखि आर्थिक सुधार थालेका छौं । त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौं । आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौं,’ अर्थमन्त्री पौडेलले भने, ‘अध्यादेशबाट गरिएका कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव, विभिन्न नीति तथा निर्णय र नीतिगत सुधारका महत्त्वपूर्ण पक्ष हुन् ।’

अर्थमन्त्री पौडेलले विकास साझेदारहरुलाई आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने बताए ।

अर्थमन्त्री पौडेलले भने,‘वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ, पूँजीगत खर्च र त्यसमा देखा समस्या समाधानका लागि पनि ध्यान दिएका छौँ ।’

Advertisement

संसदमा प्रस्तुत गरेपछि आगामी बजेटलाई सबैले यथार्थपरक भनेर मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले नेपालको विकासमा मित्र राष्ट्रहरू र विकास साझेदारहरूको निरन्तर सहयोगको अपेक्षा गरे ।

अर्थ सचिव घनश्याम उपाध्यायले आगामी बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताए ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले गत वर्षको तुलनामा नेपालको अर्थतन्त्र सुधारतर्फ गइरहेको र अहिले अर्थतन्त्रका परिसूचक सकारात्मक रहेको जानकारी दिए ।

विकास साझेदारका प्रतिनिधिले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग, यथार्थपरक बजेट निर्माण तथा कार्यान्वयन लगायतमा सुझाव दिँदै आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने बताएका थिए ।

छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अस्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्यान्ड, युरोपियन युनियन, विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य संगठन लगायतका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री