शुक्रबार, २ जेठ २०८२

नेपाल लाइफले ५ अर्ब लगानीमा इन्भेष्टमेन्ट कम्पनी स्थापना, लगानी विविधिकरणको नयाँ अध्याय

समयपोष्ट २०८२ वैशाख २७ गते २२:२७

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ नामक सहायक कम्पनी स्थापना गरी औपचारिक शुभारम्भ गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरे। नेपाल लाइफले ५ अर्ब रुपैयाँ लगानीमा यो सहायक कम्पनी स्थापना गरेको हो, जुन बीमा बजारमा २५ वर्ष प्रवेशको अवसरमा सुरु भएको नयाँ पहल हो।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले २५ वर्षमा सर्वाधिक विश्वासिलो बीमा कम्पनीको रूपमा ३० प्रतिशत बजार हिस्सा हासिल गरेको बताए। उनले कम्पनीले प्रत्येक परिवारलाई जीवन बीमामार्फत आर्थिक सुरक्षा प्रदान गर्दै आएको र उच्च प्रतिफल सुनिश्चित गर्न तथा बजारका चुनौती न्यून गर्न यो लगानी कम्पनी स्थापना गरिएको उल्लेख गरे। “हाम्रो मुख्य उद्देश्य लगानी विविधिकरण हो, यसैका लागि यो कम्पनी स्थापना भएको हो,” उनले भने। संघईले नियामक निकायका नियम पालना गर्दै संस्थागत सुशासन र उच्च प्रतिफल सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले नेपाल लाइफको यो प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि महत्वपूर्ण कदम भएको बताए। उनले बीमा कोषमा जम्मा हुने जनताको बचत र सम्पत्तिको संरक्षण र सदुपयोग बीमा कम्पनीको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे। “एउटै क्षेत्रमा लगानी केन्द्रित गर्दा जोखिम बढ्छ, त्यसैले विविधिकरण अपरिहार्य छ। नेपाल लाइफले यो कदम चालेर उदाहरण प्रस्तुत गरेको छ,” सुवेदीले भने। उनले ५ अर्बको लगानीलाई वृद्धि गर्न नवीन प्रविधि, रणनीति र उत्कृष्ट उपकरण आवश्यक रहेको बताउँदै यो प्रयासको प्रशंसा गरे।

कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले नेपाल लाइफ विगत २५ वर्षमा देशकै अग्रणी बीमा कम्पनी बनेको र यो सफलतामा बीमित, लगानीकर्ता र कर्मचारीको योगदान रहेको बताए। हाल कम्पनीसँग २ खर्ब २५ अर्बको जीवन बीमा कोष, १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता छन्। आगामी ५ वर्षमा जीवन बीमा कोष ५ खर्ब पुर्‍याउने लक्ष्यसहित यो लगानी कम्पनी स्थापना गरिएको उनले प्रष्ट्याए। “बीमा अब सुरक्षा मात्र होइन, लगानीको प्रतिफल दिने माध्यम पनि हो। यो कम्पनीमार्फत हामी बीमितलाई दीर्घकालीन उच्च प्रतिफल दिनेछौं,” उनले भने। नयाँ कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, जलविद्युत्, सौर्य ऊर्जा जस्ता क्षेत्रमा लगानी गर्ने उनले जानकारी दिए।

Advertisement

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो कदम कम्पनीको संरचनात्मक परिवर्तन भएको र यसले लगानी विविधिकरणलाई गति दिने बताए। “बीमा ऐनले लगानी विविधिकरणको नीति स्पष्ट गरेपछि हामीले यो कम्पनी स्थापना गरेका हौं। यो लगानी व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि विशेषज्ञ टिमसहितको छुट्टै संस्था हो,” उनले भने। कम्पनीले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको र विराटनगरमा प्रक्रिया अघि बढिरहेको उनले बताए। यो आर्थिक वर्षमा ६ स्थानमा जग्गा खरिद गर्ने योजना रहेको उनले जानकारी दिए।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले कम्पनीको उद्देश्य नेपाल लाइफको लगानीलाई सुरक्षित राख्दै उच्च प्रतिफल दिनु रहेको बताए। “हामी विवेकशील ढंगले लगानी गरी मूल पूँजीको संरक्षण र उच्च मूल्य सिर्जना गर्नेछौं,” उनले भने।

नायव प्रमुख कार्यकारी अधिकृत तथा लगानी कम्पनीका अध्यक्ष अमित कुमार कयालले विश्वका विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि छुट्टै लगानी कम्पनीमार्फत बीमा कोष व्यवस्थापनको संस्कृति सुरु भएको बताए। “ग्राहकको हितलाई केन्द्रमा राखेर योजना, कार्यान्वयन र नियमनमार्फत विश्वसनीयता कायम गर्नेछौं,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री