
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार लखनउस्थित सरकारी निवासमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि गहन छलफल भएको थियो। मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनबारे समकक्षी योगीलाई जानकारी गराए।
नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक सम्बन्धलाई थप प्रगाढ बनाउन यो मुख्यमन्त्रीस्तरीय भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। मुख्यमन्त्री शाहले भ्रमणको निमन्त्रणाका लागि भारत सरकारप्रति आभार प्रकट गरे।
छलफलमा आधुनिक कृषि, ऊर्जा क्षेत्र, पर्यटन प्रवर्द्धन, धार्मिक मानसखण्ड सर्किट, आध्यात्मिक, इको र वेलनेस टुरिजम, सडक कनेक्टिभिटी, पश्चिम सेती जलविद्युत आयोजनाको डीपीआर, पञ्चेश्वर, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णाली आयोजनाको सम्भाव्यता अध्ययनमा भारत सरकारको सहयोगका विषयमा कुराकानी भएको थियो।
मुख्यमन्त्री शाहले दार्चुला, बैतडी र डडेल्धुरामा निर्माणाधीन पुलहरूको काम छिटो सम्पन्न गर्न र सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकी स्थापना गर्न आग्रह गरे। यस्तै, तिकुनिया–खक्रौला र पलिया–गौरीफन्टा सडकखण्डको विस्तार छिटो सम्पन्न गर्ने प्रतिबद्धता मुख्यमन्त्री योगीले व्यक्त गरे।









प्रतिक्रिया