
संसद्को सार्वजनिक लेखा समितिको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको छ। समितिले आगामी बैठकबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययनका लागि नयाँ उपसमिति गठन गर्ने निर्णय गरेको छ।
समितिका सभापति ऋषिकेश पोखरेलले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति गठन गर्ने र उक्त उपसमितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिने बताए। उनले पोखरा विमानस्थलको प्रतिवेदनमाथि थप छलफल आवश्यक रहेको उल्लेख गर्दै समितिको भूमिका सरकारलाई जवाफदेही बनाउने रहेको स्पष्ट पारे।
“हामी न्यायिक निकाय होइनौँ, हाम्रो निर्णय अन्तिम होइन। हामीले सरकारलाई झकझकाउने हो,” सभापति पोखरेलले भने, “पोखरा विमानस्थलको प्रतिवेदन उपसमितिले पेश गरेको छ, यसलाई थप अध्ययन गरौँ। भैरहवा विमानस्थलको विषयमा पनि छलफल आवश्यक छ। अर्को बैठकमा उपसमिति गठन गरेर सात दिनभित्र प्रतिवेदन बुझाउने गरी काम अघि बढाऔँ।”









प्रतिक्रिया