विद्युत् प्राधिकरणको श्वतेत्रप : १० अर्ब ऋण लिने तयारी, ११ अर्ब ६१ करोड भुक्तानी बाँकी
नेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋण लिन प्रक्रिया अघि बढाएको छ।
शुक्रबार आयोजित श्वेतपत्र सार्वजनिक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले क्यास ब्यालेन्स नहुँदा ऋण लिनुपर्ने अवस्था आएको जानकारी दिए।
उनले भने, “हामीसँग क्यास ब्यालेन्स छैन रहेछ। १० अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृति लिन पत्र पठाइसकेका छौँ। यसको प्रक्रिया अगाडि बढिसकेको छ।”
शाक्यका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ठेक्का–पट्टाका बिलहरूमध्ये ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी बाँकी छ, जुन अहिलेसम्म तिर्न नसकिएको हो।
उनले प्रस्तुत गरेको विवरणअनुसार, हाल प्राधिकरणको केन्द्रीय कोषमा १० अर्ब १० करोड रुपैयाँ मौज्दात रकममध्ये ३ अर्ब ६८ करोड रुपैयाँ डलर मुद्दती खातामा, ३ अर्ब ९५ करोड धरौटी खातामा, र २ अर्ब ४७ करोड कल/चालू खातामा रहेको छ।
शाक्यले बताएअनुसार उक्त मौज्दात रकम प्राधिकरणको दैनिक सञ्चालनको न्यूनतम जगेडाको रूपमा रहेकोले भुक्तानी गर्न प्रयाप्त छैन। त्यसैले बाँकी भुक्तानी गर्नका लागि १० अर्बसम्मको ऋण लिने तयारी गरिएको हो।
प्रतिक्रिया